म्याग्दीका धार्मिकस्थलमा श्रीखण्ड रोपियो

इनेप्लिज २०७२ साउन २५ गते ४:५६ मा प्रकाशित

म्याग्दी, २५ साउन । म्याग्दीका विभिन्न धार्मिक स्थलमा श्रीखण्डका बिरुवा रोपिएको छ । धार्मिक पूजापाठमा उपयोगी हुने सेतो चन्दनको नामले चिनिने श्रीखण्डको संरक्षणका लागि सो बिरुवा रोपण गरिएको हो ।

भू–संरक्षण दिवसको अवसरमा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम, पौलस्त्य पुलाहाश्रम, महारानिथान, भगवतीदेवी मन्दिर, लक्ष्मीनारायण, शिवालय र नर्सरी क्षेत्रमा २५ वटा श्रीखण्डका बिरुवा रोपिएको जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।

यसैबीच दिवसको अवसरमा थाकन भालुखोला सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र र ग्रामीण सडक पाखोमा वृक्षरोपण गरिएको छ । बाँस, अम्रिसो, नेपिएर, बकैनो, मसला, राईखन्यु, सिरिस, क्यासिया आदि जातका करिब तीन हजार बिरुवा रोपिएको थियो ।

जिल्ला भू–संरक्षण कार्यालय र बहुसरोकारवाला वन कार्यक्रम (लिवर्ड), थाकन भालुखोला सामुदायिक वन उपभोक्ता समूह, नागरिक वडामञ्च र डम्मरा आमा समूहसमेतको संयुक्त आयोजनामा वृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया