परराष्ट्र मन्त्री र चिनियाँ राजदूत नुवाकोटमा

इनेप्लिज २०७२ साउन २४ गते १४:११ मा प्रकाशित

नुवाकोट, २४ साउन । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज संयुक्तरुपमा नुवाकोटको अवलोकन भ्रमण गर्नुभएको छ ।

भूकम्पले भैतिक संरचनामा पुर्‍याएको क्षतिको अध्ययन गर्न मन्त्री पाण्डे र राजदूत चुन्ताई संयुक्तरुपमा जिल्ला भ्रमणमा रहनुभएको हो । उहाँहरुले देवीघाटस्थित वृद्धाश्रम, जिल्ला अस्पताल, त्रिभुवन त्रिशूली उच्च मावि र नुवाकोटको साततले दरबार तथा दरबार परिसरका ऐतिहासिक संरचनाको अवलोकन गर्नुभएको छ ।

पूर्णरुपमा ध्वस्त बनेको त्रिशूली अस्पतालको भौतिक संरचना निर्माणमा चिनियाँ सरकारले सघाउने भएकाले राजदूतलाई भ्रमणका लागि ल्याएको मन्त्री पाण्डेले बताउनुभएको छ ।

‘रेशम मार्ग’ नेपालको जमिनमुनिबाटै हुने सम्भावना

सो अवसरमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री पाण्डेले चीनको सिगात्सेसम्म आएको रेलमार्गलाई नुवाकोटसम्म जोड्ने सम्भावना रहेको बताउँदै त्रिशूली–केरुङ रेलमार्ग जमिनले थामेसम्म बनाउन प्राविधिक टोलीले अध्ययन गर्ने उल्लेख गर्नुभयो ।

साथै चीनले तयार गर्न लागेको ‘रेशम मार्ग’ दक्षिण एसियाकै मुलकलाई फाइदा हुनेगरी नेपालको जमिनमुनिबाटै तयार हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

यसैबीच, परराष्ट्र मन्त्री पाण्डेले एक कार्यक्रमबीच जिल्ला अस्पताल त्रिशूलीलाई दुई थान ल्यापटप हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष अरुणकुमार श्रेष्ठले अस्पतालको वर्तमान अवस्था र अहिलेको अवस्थामा नागरिकलाई प्रदान गरिरहेको सेवाका विषयमा मन्त्री तथा चिनियाँ राजदूतलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया