शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:४०
वासिङटन डिसी 06:55

महिलाको अधिकारलाई संविधानमा समेटिन्छ: उपप्रधानमन्त्री सिंह

इनेप्लिज २०७२ साउन २४ गते १२:२२ मा प्रकाशित

Rss_Images_1439115782383_AR-KTM-DPM Singh-2काठमाडौँ, २४ साउन । उपप्रधानमन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नयाँ बन्ने संविधानमा महिलाको अधिकारलाई समेटिने बताउनुभएको छ ।

नेपाल महिला सङ्घको ६८औँ स्थापना दिवसको अवसरमा काठमाडौँ क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको एक दिने महिलाका लागि ‘क्षेत्रीय नेतृत्व विकास तालिम’ कार्यक्रममा उपप्रधानमन्त्री सिंहले संविधानमा विवादित कुराहरु राजनीतिक संवाद समितिमा छलफल भएर संविधानसभामा पेस गर्ने गृहकार्य भएकाले सबैको सुझावलाई संविधानमा समेटिने उल्लेख गर्नु भयो ।

नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका सिंहले महिलाका हक, अधिकारका निम्ति मङ्गलादेवी सिंहले महिलालाई एकीकृत गर्नका लागि म्हैपीमा भोज राखेर एकीकृत गरेको स्मरण गर्नुभयो । उहाँले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महिलाको ठूलो भूमिका रहेको चर्चा गर्दै देशको उच्च निकायमा महिलालाई कसरी प्रतिनिधित्व गराउने भन्ने बारेमा समेत छलफल चलेको बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापति एवम् सभासद् भीमसेनदास प्रधानले क्षेत्रीय नेतृत्व विकास तालिम समय सन्दर्भ भएको भन्दै अब हुन लागेको स्थानीय निकायको निर्वाचनमा यस्तो तालिमले ठूलो भूमिका खेल्ने बताउनुभयो ।

सभासद् राज्यलक्ष्मी श्रेष्ठले राणाकालीन समयमा मङ्गलादेवी सिंहले महिला सङ्घको स्थापनामा खेलेको भूमिकाको स्मरण गर्नु भयो ।

महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिलाको हक अधिकारलाई राज्यले विशेष ध्यान दिनुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया