विपन्न समुदायमा सोलार जडान

इनेप्लिज २०७२ साउन २४ गते १२:१५ मा प्रकाशित

SOLAR-ENERGYपथरी (मोरङ), २४ साउन । मोबाइल चार्ज गर्न आधा घन्टा हिँडेर कदमाहा बजार पुग्नुपर्ने समस्या झेल्दै आउनुभएकी कदमाहा– ४ की बेचनीदेवी मण्डलको घरमा सोलार बत्ती जडान भएपछि समस्या समाधान भएको छ ।

मण्डलले मात्र होइन थलाहा– ५ की पर्वतीदेवी सरदारले त अरुको घर वा पसलमा मोबाइल चार्ज गर्दा रु १० तिर्नुपथ्र्यो । त्यस्तै डाइनिय गाविसका बाबुराम चौधरीले मासिक रु सात सयको मैनबत्ती खरिद गर्नुपरेको थियो ।

विद्युत् नपुगेका र महसुल तिर्न नसक्ने विपन्न समुदायलाई लक्षित गरेर जिविस मोरङले जिल्लाका आधा दर्जनभन्दा बढी गाविसका विपन्न समुदायलाई लक्षित गरेर घर घरमा सोलार बत्ती जडान गरेपछि उहाँहरु खुसी हुनुभएको छ । मोबाइल चार्ज गर्नेहरुमा मात्र नभएर विद्यार्थीसमेत खुसी देखिएका छन् ।

थलाहाको जनता माविमा कक्षा ७ का विद्यार्थी सुनितादेवी सदार सोलार जडान भएपछि राति पढ्न नपाइने समस्याबाट मुक्त हुनुभएको छ । “बत्ती नहुँदा राति पढ्नै पाइँदैनथ्यो, सोलार जडान भएपछि नियमित रुपमा पढ्न थालेकी छुँ” उहाँले भन्नुभयो ।

जिविसको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख ज्ञानेन्द्रकुमार सिंहका अनुसार संसद् विकास कोष, जिविसको रु ३० लाख लगानीमा आदिवासी, जनजाति, दलित, विपन्न, पिछाडा वर्ग र विद्युत् नपुगेका ठाउँमा सोलार बत्ती जडान गरिएको हो ।

विद्युत् भार कटौतीको विकल्पका रुपमा प्रयोग बढ्दै जान थालेको सोलार जिल्लाको थलाहामा ६५, डाइनियामा ५७, डग्राहा– ५ मा ४९, झुर्किया सिजुवा र बारङ्गीमा ४६÷४६ वटा तथा टङ्कीमा ३७ वटा सोलार बत्ती जडान गरिएको हो ।

प्रतिक्रिया