आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:१६
वासिङटन डिसी 13:31

राउटेलाई संविधानमा समेट्न अध्यक्ष नेम्वाङसमक्ष माग

इनेप्लिज २०७२ साउन २२ गते १३:३५ मा प्रकाशित

Raute Submits Feedback on the New Constitution Draftकाठमाडौँ, २२ साउन । लोपोन्मुख राउटे जनजातिलाई पनि संविधानमा समेट्न माग गर्दै आज राउटेले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नौबुँदे ज्ञापनपत्र प्रदान गरेका छन् ।

राउटे समुदायका सहायक मुखिया शिवराज साहीसहितका छजना राउटेले आज बुझाएको ज्ञापनपत्रमा अझैपनि आफूहरू जङ्गल छाडेर जाने इच्छा नभएकाले आफ्नो भाषा, संस्कृति, वेशभूषा र धर्म लोप हुन नदिन भावी संविधानमा किटानीका साथ उल्लेख गर्न माग गरेका छन् ।

उनीहरुले कानुनीरूपले लोपोन्मुख राउटे आदिवासी जनजाति उल्लेख हुनुपर्ने, आफूहरू रहेकै स्थानका प्रदेश, सङ्घ र स्थानीय निकायमा राउटेबाट पनि प्रतिनिधित्व गराइनुपर्ने, आत्मसम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता गरिनुपर्ने, आरक्षणअन्तर्गत सरकारी सेवा र शिक्षा क्षेत्रमा आफूहरूका लागि सिट सङ्ख्या तोकिनुपर्ने, आफ्नो संस्कृति जोगाउन सङ्ग्रहालय स्थापना गरिनुपर्ने, सुलभ तरिकाले नागरिकता प्रदान गरिनुपर्ने, समावेशी आयोगमा आफूहरुबाट एकजना सदस्य राखिनुपर्नेजस्ता माग ज्ञापनपत्रमा उल्लेख गरेका थिए ।

छजना राउटेको प्रतिनिधित्व गर्नुभएका सहायक मुखिया साहीले दसैँ तिहार र माघीजस्ता चाडपर्वमा खाद्यसामग्री जुटाउनका लागि आफूहरु काठमाडौँ आएको बताएपछि संविधानसभा अध्यक्ष नेम्वाङले यो कुरा आफूले प्रधानमन्त्रीसमक्ष राख्ने र सरकारबाट आवश्यक पहल हुने जानकारी दिनुभयो ।

उहाँले राउटे समुदायबाट प्रस्तुत मागपत्रले संविधान निर्माणको क्रममा जनताबाट रायसुझाव लिनेक्रमले स्थायित्व पाउनुका साथै ऐतिहासिक बिन्दुमा पुर्‍याएको उल्लेख गर्दै संविधान निर्माणका क्रममा यो समुदायलाई पनि ध्यान दिनुपर्छ भन्नुभयो ।

भेटमा राउटे समुदायका तर्फबाट अध्यक्ष नेम्वाङलाई काठको बाकस प्रदान गरिएको थियो भने अध्यक्ष नेम्वाङले उहाँहरुलाई भादगाउँले टोपी र कछाड प्रदान गर्नुभएको थियो ।

ती राउटेलाई नेपाल राउटे विकास सङ्घ, नेपाल मानवतावादी समाज र नेपाली हेल्पिङ हेण्ड्ज नामक संस्थाले सहयोग पु¥याएका थिए ।

प्रतिक्रिया