लुम्बिनी अञ्चललाई नटुक्य्राउन सभासद्को दबाब

इनेप्लिज २०७२ साउन २१ गते १५:०६ मा प्रकाशित

काठमाडौँ, २१ साउन । लुम्बिनी अञ्चलबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रदेशको सीमाङ्कन गर्दा लुम्बिनी अञ्चललाई नटुक्य्राउन शीर्ष नेताहरुलाई दबाब दिएका छन् ।

शीर्ष नेतृत्वलाई आज ज्ञापनपत्र बुझाउँदै उनीहरुले लुम्बिनी अञ्चलका सबै जिल्लालाई एकै प्रदेशमा समेट्न आग्रह गरे ।

बत्तीस सभासद्द्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई बुझाइएको गुल्मी क्षेत्र नं २ का सभासद् चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

आफ्ना मागलाई शीर्ष नेताले सकारात्मक रुपमा लिएको उहाँले बताउनुभयो । ज्ञापनपत्रमा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि पवित्र धार्मिकस्थल मुक्तिनाथसम्मलाई एउटै प्रदेशमा राख्न पनि माग गरिएको छ ।
सो ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरुमा विष्णु पौडेल, बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट,दीपक बोहरा,डा दुमन थापा,सोमप्रसाद पाण्डे, शान्ता मानवी,मानबहादुर विश्वकर्मालगायतका सभासद् हुुनुहुन्छ ।

प्रतिक्रिया