सामुदायिक विद्यालयको स्तर उठाउन जोड

इनेप्लिज २०७२ साउन २० गते १५:३८ मा प्रकाशित

gagan-thapa-497x600काठमाडौँ, २० साउन । सभासद् गगनकुमार थापाले सामुदायिक विद्यालयहरुको स्तर नउठेसम्म संविधान मात्र बनेर सन्तोष लिनु नहुने बताउनुभएको छ ।

बुढानीलकण्ठ–१२, कपन, बेखस्थित बालउद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावकलाई सम्बोधन गर्दै नेता थापाले सामुदायिक विद्यालयहरुको स्रोत र शिक्षक हुँदा हुँदै पनि प्रगति गर्न नसक्नाको कारणबारे खोजी गरिनुपर्ने औँल्याउनुभयो ।

उहाँले विद्यालयको भवन निर्माणका लागि दातृसंस्थाबाट रु ६० लाख उपलब्ध गराइदिने आश्वासन पनि दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारी, उमाविका निमित्त प्राचार्य होमप्रसाद वाग्ले, सहायक प्रअ डोरप्रसाद आचार्यले विद्यालयमा आगामी दिनमा प्राविधिक विषय पनि पढाइने जानकारी दिनुभयो ।

विसं २०४६ मा स्थापित सो विद्यालयमा हाल करिब एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । गत वर्षको प्रवेशिका परीक्षामा विद्यालयका ७९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गरिब र न्यून आय भएका अभिभावकका छोराछोरीलाई गुणस्तरीय, प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको छ ।

सो अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने ९८ वर्षीय रामप्रसाद शर्मा काफ्ले तथा समाजसेवी खिलनाथ अधिकारीका साथै गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । साथै विद्यार्थीहरुबाट सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयको ‘सामाजिक परीक्षण प्रतिवेदन’ सार्वजनिक गरिएको थियो ।

विद्यालय हातामा निर्मित गणेश र सरस्वतीको मन्दिर परिसरमा आजै समीका दुई वृक्ष पनि रोपिएको थियो ।

प्रतिक्रिया