मंगलबार, असार ८ २०७८
काठमाडौं १६:४०
वासिङटन डिसी 06:55

भूकम्पपीडित वृद्धा र पुरुषलाई राहतमा स्यानेटरी प्याड !

इनेप्लिज २०७२ साउन २० गते १४:३२ मा प्रकाशित

Rss_Images_1438784082967_RG- BKT- Vukapma Pidit Lai Pyad Photo-20भक्तपुर, २० साउन । राहतमा चामलको आशा गरेर शिविरमा बसेका भक्तपुरका ज्येष्ठ नागरिक र पुरुष भूकम्पपीडितलाई दाताले महिनावारी हुँदा प्रयोग हुने स्यानेटरी प्याड बाँडेपछि टोक्नु न बोक्नु भएको छ ।

भूकम्पपीडितको शिविरमा राहत बाँड्न आएको युनिसेफले भक्तपुरको दूधपाटी नजिकै रहेको नःपुखुको किनारामा शिविर बनाएर बसेका वृद्ध महिला र पुरुषलाई स्यानेटरी प्याड बाँडेपछि यस्तो स्थिति आएको हो ।

शिविरमा रहेकी ७८ वर्षकी शान्ता श्रेष्ठले राहतका नाममा आउने यस्ता सामानको सट्टा खानेकुरा र लाउने कुरा ल्याइदिएको भए हुन्थ्यो भन्नुभयो ।

श्रेष्ठले भन्नुभयो– “हामीलाई राहत सामग्रीमा आउने यस्ता सामान के काम ? बरु पछ्यौरा, ओढ्ने, ओछ्याउने र खानेकुरा ल्याइदिए सजिलो हुन्थ्यो ।”

युनिसेफले साबुन, ब्रस, मन्जन, रुमाल, काँइयो र स्यानेटरी प्याड दिएपछि शिविरका ज्येष्ठ नागरिक र पुरुषले असन्तुष्टी जनाएका हुन् ।

शिविरमै रहेकी ७० वर्षकी विष्णुदेवी व्याञ्जुले शिविरमा खानेकुरा ल्याइदिए प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो–“मनमा धेरै पीर छ, खुसी कतै छैन, दिनभरि शिविरमा बस्दा के खाउँ के खाउँ लाग्छ, बरु खानेकुरा ल्याएदिए खान पाइन्थ्यो ।”

शिविरमा बस्दै आएकी ६७ वर्षकी पदमसुन्दरी बाटीको गुनासो पनि उस्तै छ । जस्ताको शिविरमा छानो प्वाल परेकाले राति चिसो भएर जाडो हुने बताउँदै उहाँले बरु जाडोमा ओढ्ने सामान दिएको भए प्रयोग हुनेथियो भन्नुभयो ।

शिविरमा बाँडेको राहत सामानमा खानेकुरा नभएको गुनासो गर्र्दै ७० वर्षकी दीपमाया टुकबन्जाले स्यानेटरी प्याडको सट्टामा पाउरोटी दिएको भए उपयुक्त हुने बताउनुभयो । सत्तरी वर्षकै जगतमाया पक्काले पछिल्लो समयमा राहत बाड्नेले खानेकुरा नदिई अनावश्यक सामान दिँदा राहतको आशै मर्न थालेको दुखेसो गर्नुभयो ।

युनिसेफले भूकम्पपीडितको शिविरमा गएर महिला ज्येष्ठ नागरिकलाई मात्रै होइन पुरुषलाई पनि स्यानेटरी प्याड बाँडेको छ । नःपुखुस्थित भूकम्पपीडितको शिविरमा बसेका ३२ वर्षका अपाङ्ग मनोज दुवालले स्यानेटरी प्याड पाएपछि दिक्क मानेका छन् । उनलाई कुनै पनि काममा प्रयोग नहुने प्याड पाउने बित्तिकै चाहिँदैन भन्दै पन्छाइदिएका थिए ।

दुवाल मात्रै होइन भक्तपुरका धेरै शिविरमा बस्ने पुरुषले पनि यस प्रकारको स्यानेटरी प्याड पाएपछि राहत के हो भनेर बुझेपछि मात्रै राहत लिने गरेका छन् ।

भूकम्पपीडितको आवश्यकताको पहिचान नगरी दिइने यस्ता राहत सामग्रीले उनीहरुलाई राहत नभई आहत बनाएको छ । राहत बाँड्ने कुनै पनि निकायले पीडितको आवश्यकतालाई पहिचान गरेर सोहीअनुसारको राहत बाँड्न सकेमात्रै प्रयोग र प्रभावकारिता बढ्ने भूकम्पपीडित नै बताउँछन् ।

प्रतिक्रिया