बिहीबार, असार १० २०७८
काठमाडौं ०३:३९
वासिङटन डिसी 17:54

साउनभित्र संविधान जारी गर्नुको विकल्प छैन: प्रधानमन्त्री

इनेप्लिज २०७२ साउन १९ गते १२:२७ मा प्रकाशित

PM Briefs Media after a Meetingकाठमाडौँ, १९ साउन । प्रधानमन्त्री सुशील कोइरालाले दलहरू छलफलमा जुटिरहेकाले यही साउनभित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाउनुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो–“प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा म धेरै आशावादी छु । संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेका छाँै । सञ्चारमाध्यमले नकारात्मक सन्देश प्रवाह गर्नुभएन ।”

उहाँले संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राख्नुभयो ।

उहाँले मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने पनि बताउनुभयो ।

यसैबीच, बैठकपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि यही साउनभित्रै संविधान आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “हामी कार्यविभाजन गरेर काम गरिरहेका छौं । सीमाङ्कनसहितको संविधान यही साउनभित्र आउँछ ।”

संविधानको प्रारम्भिक मस्यौदामा जनताका सुझावका आधारमा परिमार्जनका लागि सहमति जुटाउने जिम्मा पाएको शीर्षनेता सम्मिलित विशेष समितिको अर्को बैठक आजै बस्नेछ ।

प्रतिक्रिया