उत्पादनमा वृद्धि गरी निर्यात बढाउनुपर्नेमा उपप्रम गौतमको जोड

इनेप्लिज २०७२ साउन १७ गते १५:०९ मा प्रकाशित

Bamdev_20140227031052काठमाडौँ, १७ साउन । उपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा आर्थिक समुन्नतीका लागि कृषि क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले नेपाली चिया तथा कफीको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भएकाले यसको उत्पादनमा वृद्धि गरी निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।

कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका गौतमले चिया तथा कफी उद्योगका क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसमा क्रियाशील कृषकलाई रोग, किरा तथा आधुनिक प्रविधिकाबारेमा सिप अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कृषि सचिव उत्तमकुमार भट्टराईले त्यस क्षेत्रमा कृषकको आकर्षण बढाउन चिया तथा कफीमा बिमाको व्यवस्था तथा सुलभ व्याजदरमा ऋण उपलब्ध गराउन गृहकार्य भइरहेको बताउनुभयो ।

योजना अधिकृत गौरब लुइँटेलले प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ५३ मेट्रिक टन पार्चमेन्ट कफी तथा दुई करोड १० लाख ७६ हजार ३६६ किलो चिया उत्पादन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया