प्लास्टिक झोला निषेध अभियान फेरि सुरु, हालसम्म १२२ किलो झोला जफत

इनेप्लिज २०७२ साउन १७ गते १४:४४ मा प्रकाशित

plastic-bagsकाठमाडौँ, १७ साउन । वातावरण विभागले काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने अभियानलाई फेरि कडाइका साथ लागू गराउन सुरु गरेको छ ।

अनुगमनका क्रममा आज ९० किलो प्लास्टिक जफत गरिएको विभागले जनाएको छ । विभागका वातावरण निरीक्षकको समूहले आज गरेको बजार अनुगमनका क्रममा विशालनगर क्षेत्रका ५० वटा पसलबाट ३५ किलो, न्यूरोड, असन क्षेत्रका २५ पसलबाट १५ किलो, मित्रपार्क, चावहिल क्षेत्रका ३० पसलबाट ३५ किलो र माछापोखरी, बालाजु क्षेत्रबाट पाँच किलो प्लास्टिक झोला जफत गरिएको हो ।

व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिको २०७१ भदौ ९ गतेको निर्देशनअनुसार २०७२ वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिक झोला निषेध गरी कडाइका साथ कार्यान्वयन गराइएकामा वैशाख १२ गतेको भूकम्पपछि रोकावट आएको थियो ।

साउन १४ गतेबाट फेरि अनुगमन सुरु गरिएको विभागका उपमहानिर्देशक सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

“भूकम्पपछि १२२ किलो प्लास्टिक झोला जफत गरिएको छ, बिहीबार र शुक्रबारको अनुगमनबाट कलङ्कीमा १५ किलो, लाजिम्पाटमा १५ किलो, नक्सालमा दुई किलो र आज विभिन्न स्थानमा ९० किलो प्लास्टिक झोला जफत गरिएको छ, यो प्लास्टिक झोला प्रयोगकर्ताले गल्ती गरेको स्वीकार गरी माफ मागेकाले अन्य कारबाही गरिएन”–उहाँले भन्नुभयो ।

उपत्यकामा मात्र प्लास्टिक झोला उत्पादन गर्ने २२ वटा उद्योग रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया