म्यानमारमा बन्दी रिहाइको स्वागत

इनेप्लिज २०७२ साउन १७ गते ११:२० मा प्रकाशित

याङ्गुन, १७ साउन । म्यानमारको सरकारले बिहीबार उसको थुनामा रहेका हजारौँ बन्दी रिहा गरेको समाचारको स्वागत गरिएको जनाइएको छ ।

म्यानमार सरकारको जेलमा रहेका ती बन्दीलाई रिहा गर्न अन्तर्राष्ट्रिय समुदायलगायतले माग गर्दै आएका थिए । तर विगतमा सैनिक सहयोगको सरकार भएकोले उनीहरुको रिहाई गरिएको थिएन ।
म्यानमारको सरकारले २१० जना विदेशीसहित अरु हजारौँ बन्दी रिहा गरेको समाचारमा जनाइएको थियो ।
म्यानमारको सरकारले राजनीतिक कारणले जेलमा राखेको बताइएका उनीहरुको रिहाइपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थाहरुले यस निर्णयको स्वागत गरेका हुन् ।

म्यानमार सरकारले पछिल्ला वर्षहरुमा राजनीतिक सुधारका कार्यक्रमहरु ल्याएको जनाएको छ । जसका कारण उसले विगतमा पनि यसरी राजनीतिक बन्दीहरुलाई रिहा गरेको थियो ।

सरकारको यस निर्णयको म्यानमारको विपक्षी दलले पनि स्वागत गरेको समाचारमा जनाइएको छ । म्यानमारमा विगतका वर्षहरुदेखि नै हजारौँ बन्दी रही आएका छन् ।

आगामी नोभेम्बरमा म्यानमारमा आमनिर्वाचन हुने भएको छ । त्यसअघि पनि उसले राजनीतिक बन्दीलाई रिहा गर्ने जनाएको थियो ।

राष्ट्रपति थाँ सेनद्वारा रिहाइको आदेश पाएकामा छ हजार ९६६ जना रहेका छन् । ती मध्ये २१० जना विदेशी पनि परेका छन् ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले पनि निर्वाचन अघिनै जेलमा रहेका सम्पूर्ण बन्दीहरु रिहा गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया