प्रहरी सुरक्षामा यार्सा व्यापारीलाई चीन लग्ने तयारी

इनेप्लिज २०७२ साउन १७ गते ११:११ मा प्रकाशित

त्रिपुराकोट (डोल्पा), १७ साउन । डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणमा संलग्न व्यापारीलाई प्रहरी सुरक्षा घेरामा चीन लैजाने तयारी भइरहेको छ ।

सूचना जारी गरेपछि ६० देखि ७० जना यार्सागुम्बा व्यापारी जम्मा भइसकेको र अझै व्यापारीहरु आउने क्रम जारी रहेको प्रहरी नायब उपरीक्षक धु्रवराज रावतले जानकारी दिनुभयो । भोलि बिहानै व्यापारीलाई प्रहरी स्कटिङमा चीन लैजाने तयारी भइसकेको उहाँले बताउनुभयो ।

लुटिने डरकै कारणले यसवर्ष यार्सागुम्बा व्यापारीहरुले अझै चीन जाने तयारी नगरेको उहाँले उल्लेख गर्नु भयो ।

हरेक वर्ष चीन जाने नाकामा हुने करोडाँैको लुटपाटलाई मध्यनजर राख्दै यसवर्ष जिल्ला प्रशासन कार्यालय, डोल्पाले यार्सागुम्बा व्यापारीलाई प्रहरी स्कटिङमा चीन लैजाने तयारी गरिरहेको छ ।

जिल्लाको सुरक्षा व्यवस्था फितलो भएकै कारण दुई वर्षयता लगातार करोडौँको नगदसहित यार्सागुम्बा व्यापारी लुटिएकाले यसवर्ष प्रहरी स्कटिङमा पनि यार्सा व्यापारीले असुरक्षित महसुस गरिरहेको स्थानीय व्यापारी टीकादत्त न्यौपानेले बताउनुभयो ।

यार्सागुम्बाको मौसम सकिएलगत्तै सदरमुकाममा पनि यार्सागुम्बा व्यापारीको घुइँचो लागेको छ ।

डोल्पाको व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बालगायतका जडीबुटी धेरै मूल्यमा बिक्रीका लागि व्यापारी जाने गर्छन् ।

प्रतिक्रिया