जलमग्न जनकपुर

इनेप्लिज २०७२ साउन १७ गते १:३२ मा प्रकाशित

जनकपुरधाम, १७ साउन । मिथिलाको प्राचीन एवम् ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ ।

यहाँ दुई दिन भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ । सम्बन्धित निकायले ध्यान नदिएका कारण जनकपुर फोहरले भरिएको छ । जनकपुरको मुख्य समस्या समाधानका लागि एसियाली विकास बैंक र स्थानीय लगानीमा एकीकृत सहरी विकास आयोजना लागू भएको छ । जनकपुरवासी त्यो योजना लागू भई अनुहार फेरिने प्रतीक्षामा छन् ।

जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले तीन वर्षदेखि एकीकृत सहरी विकास आयोजना कसरी सफल पार्ने भन्नेमा आफूहरु लागेको जानकारी दिँदै दुई÷तीन महिनामा नै काम सञ्चालन गरिने बताउनुभयो ।

नगरभित्र २६ किमी मुख्य सडक, पाँच किमी सहायक सडक, ३० किमी ढल निर्माण र फोहर व्यवस्थापनका लागि सुविधासम्पन्न ल्यान्डफिल साइट निर्माण गरिने छ । पाँच वर्षभित्र जनकपुरमा रु २० करोडभन्दा बढी रकम खर्चिए पनि कर्मचारी, दलीय संयन्त्र र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता भएकै कारण यहाँको विकासनिर्माण हुन नसकेको हो ।

यहाँ नालाको समस्याले गर्दा स्थानीयवासी विभिन्न प्रकारको समस्या झेल्दै आएका छन् । उनीहरु उपमहानगरपालिकाले खासै ध्यान नदिएका कारणले यस्तो समस्या आएको बताउँछन् । उपमहानगरपालिकामा तराई मधेस सद्भावना पार्टीका तर्फबाट संयन्त्रमा सहभागीसुशीलकुमार सिंहका अनुसार जनकपुरको विकासका लागि सरकारले नै भेदभाव गरिरहेको आरोप लगाउँदै जुन रुपमा बजेट आउनुपर्ने हो, नआएकाले समस्या देखिएको जिकिर गर्नुभयो । उहाँले जनकपुरको विकासका लागि सरकारले समुचित बजेट तथा सञ्चालनमा रहेको एकीकृत सहरी विकास आयोजनाको कामलाई यथाशीघ्र सञ्चालन गर्नुपर्ने औँल्याउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता लालजीशरण यादवले एकीकृत सहरी विकास आयोजना जनताको उचित सहभागिता गराएर सञ्चालन भएमा काममा पारदर्शिता हुने बताउनुभयो ।

प्रतिक्रिया