कतारमा म्युजिक भिडियो छायाङ्कनको लहर

इनेप्लिज २०७२ साउन १६ गते १७:२२ मा प्रकाशित

pamphaकतार । मध्यपूर्वको कतारमा यतिखेर ५० डिग्रीको तापक्रम घटेको छैन । मध्याह्नको चर्कंदो घाममा हप्ता दिनमा एक पटक हुने बिदाको समयलाई समेत सदुपयोग गर्दै आफ्नो प्रतिभालाई प्रस्फुटन गर्न कतारमा कार्यरत कलाकार भने हतारिन्छन् ।

प्रचण्ड गर्मीको समेत प्रवाह नगरी कर्ममा विश्वास राख्दै कतारका चर्चित कलाकारले यसै साता कतारमा क्रियाशील एसबी फिल्मस् प्रालि तथा मितेरी फिल्मस् प्रालि म्युजिक भिडियो छायाङ्कनमा तीव्रता दिएका छन् ।

चर्चित नायिका एवम् ‘मोडल’ सुमित्रम नेपालमा छँदादेखि नै कलाकारितामा रहेकी थिइन् । उनलाई कतारमा समेत खाली हात बस्नु परेको छैन । यतिखेर उनीसँगै रञ्जित तामाङ र मिलन तामाङको मुख्य अभिनय रहेको ‘तक्दिर’ एल्बमको गीतमा कतारका रमणीयस्थलमा छायाङ्कन गरिएको छ । गायक सन्दीप ज्ञवालीको स्वर रहेको उक्त म्युजिक भिडियो दर्शकमाझ छिट्टै बजारमा आउने तयारी भएको छ ।

त्यसैगरी अर्का चर्चित तन्नेरी मोडल तथा नर्तक ओबी रायमाझीले कतारमा आत्महत्या गर्ने प्रयास गरेका छन् । यो उनको यथार्थ जीवनमा भने होइन । म्युजिक भिडियोमा उनी आफूले मन पराएकी प्रेमिकालाई अर्कैले माग्न आउँदाको स्थिति देखाउने दृश्यमा अभिनय गरेका छन् । ‘तिम्रो र मेरो सम्बन्धलाई नस्वीकारे तिम्रो घरकाले, मबाट चटक्क चुँडाएर लग्यो भने, तिमीलाई अर्काले, म त जिउँदै मर्दैछु आत्महत्या गर्दैछु’ बोलको गीतमा दिया पौडेलका साथमा सुरेश पोखे्रलको मुख्य भूमिका छ । शब्द, सङ्गीत तथा स्वर हेमन्त शिशिरको छ भने निर्देशन कृष्ण धमलाले गरेका छन् ।

त्यसैगरी ‘आइज आँसु आइज’ बोलको गीतमा मोडल रायमाझीका साथमा मोडल तथा नर्तकी यशोदा बस्नेतका साथमा कृष्ण धमलाको अभिनय देख्न सकिने छ । उक्त म्युजिक भिडियोको निर्देशनसमेत धमलाले नै गरेका छन् ।

सुरज केसीको आवाज रहेको उक्त गीतमा शब्द शिव हमालको छ भने सङ्गीत वसन्त थापाले दिएका छन् । एकसाथ बजारमा आउन लागेका तीनै म्युजिक भिडियोको सन्त बम्जनले छायाङ्कन गरेका हुन् । रासस

प्रतिक्रिया