मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:३७
वासिङटन डिसी 21:52

डा. महतले भने- ‘म पनि साझा प्रकाशनको सेयर सदस्य’

इनेप्लिज २०७२ साउन १६ गते ९:२८ मा प्रकाशित

ramsaran-mahatकाठमाडौँ, १६ साउन । करिब दुई हजार लेखक–साहित्यकार सेयर सदस्य रहेको ‘साझा प्रकाशन’ मा अर्थमन्त्री डा रामशरण महत पनि सेयर सदस्य रहेकोे धेरैलाई थाहा छैन । डा महत साझाको सदस्य रहेको यतिबेला बोध भयो, जतिबेला ‘साझा बचाऔँ अभियान’ का क्रममा वर्तमान नेतृत्व केही दिनअघि उहाँको कार्यकक्ष सिंहदरबारमा पुगी रु २० करोड सहुलितयपूर्ण ऋण मागिरहेको थियो ।

“अर्थमन्त्रीले मुस्कानका साथ म पनि साझाको सेयर होल्डर (सदस्य) हो नि भनेपछि हामीमा नयाँ उत्साह थपियो ।” प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले रासससँग भन्नुभयो – “मन्त्री डा महत ऋण दिन सकारात्मक हुनुहुन्छ, दोस्रो चौमासिकमा त्यो रकम पाउने आशा छ, त्यसपछि साझाका तत्कालीन सुधारका अभियानले व्यापकता पाउनेछ ।”

त्यसो त प्रधानमन्त्री सुशील कोइरालासँगको केही साताअघिको भेटमा पनि साझासँग आफूहरूको बच्चादेखिकै भावनात्मक सम्बन्ध रहेकाले यसलाई बचाउनुपर्छ भन्ने सन्देश सञ्चालक समितिका पदाधिकारीले पाएका थिए भने शिक्षामन्त्री चित्रलेखा यादवबाट साझा बचाउमा भरोसा मिलेको देखिन्छ ।

एक शताब्दी लामो इतिहास बोकेको साझा प्रकाशन बचाऔँ अभियानमा सघाउँदै पूर्वशिक्षामन्त्रीद्वय नेकपा (एमाले) का नेता प्रदीप नेपाल र एकीकृत नेकपा(माओवादी)का नेता दीनानाथ शर्मा हालै सञ्चालक समितिको सदस्य हुनुभएको छ । समितिका अध्यक्षमा नेपाली काँग्रेसका नेता रमेश लेखक नियुक्त भए पनि पार्टीको महाधिवेशनको व्यस्तताका कारण देखाउँदै उहाँले राजीनामा दिएपछि शिक्षा मन्त्रालयले गत साता महाप्रबन्धक शर्मालाई अध्यक्षसमेतको जिम्मेवारी दियो । दुई पूर्वमन्त्री र फरक फरक दलका सक्रिय नेता मन्त्रालय मातहतको संस्थामा सदस्य बसेको बिरलै उदाहरण पाइन्छ । उहाँहरूको सहभागिताले डुबेको साझा माथि उठ्ने आशा पलाएको छ ।

सो प्रकाशनलाई शिक्षा सामग्री केन्द्र लिमिटेड, वित्तीय संस्थाका ऋण तथा बक्यौता तलब गरी करिब रु ३५ करोड घाटा छ । घाटा पूर्तिका लागि २० वर्ष सेवा गरेका करिब एक सय कर्मचारीलाई स्वैच्छिक अवकाश दिने, चर्काे ब्याजका ऋण घटाउने र चालु पुँजी उत्पादनमूलक काममा लगाउने तथा चार वर्षभित्र सरकारको त्यो ऋण तिर्ने सञ्चालक समितिको योजना छ । हाल साझामा १९४ कर्मचारी छन् ।

शर्मा महाप्रबन्धक भएपछि ४४ अस्थायी तथा ज्यालादारी कर्मचारीलाई बिदाइ दिइएको छ । “झन्डै मेरो उमेर अवधि सेवा गरेका कर्मचारी र मबीच काममा स्पिरिट (गति) मिल्दैन, त्यसले अब संस्थालाई पुनर्ताजगीकरण गर्नुपर्छ, वास्तवमा यो संस्था डुबेको होइन, डुबाइएको हो, जब संस्था माथि जान थाल्छ यसलाई डुबाउनेहरू यसरी डुब्छन्, तिनीहरूलाई गोताखोरले खोज्दा पनि भेट्न गाह्रो पर्छ ।” शर्मा भन्नुहुन्छ ।

वर्तमान सञ्चालक समितिको पहिलो बैठकमा सदस्य नेपालले महाप्रबन्धको भावना रकेटको जस्तो र कार्यरत कर्मचारीको मोटरको जस्तो देखिएकाले साथ दिन नसक्नेले छाडेर जान आग्रह गरेपछि संस्थामा नयाँ तरङ्ग पैदा भएको छ ।

निजी क्षेत्रको अक्स्फोर्ड इन्टरनेसन प्रकाशनको अनुभव बोक्नुभएका शर्माले साझामा लामो समयदेखि बाँकी रहेको लेखा परीक्षण चाँडै गराउने, बजारमा माग भएका ‘मुनामदन’, ‘सबैको नेपाली’, ‘एक चिहान’, ‘लिङ्क अङ्ग्रेजी’ जस्ता पुस्तक पुनः मुद्रण तथा आफ्ना पाठ्यक्रमको अनधिकृत मुद्रण रोक्ने जस्ता सुधारात्मक कार्य गरिरहेको बताउनुभयो ।

यस्तै संस्था बचाऔँ र सहकार्यको आग्रहसहित उद्यमीलगायत विभिन्न क्षेत्रका सात सय जनालाई पत्राचार गरिएको छ भने मुख्य सरकारी निकायमा मुद्रणको काम दिन भेटघाट तथा बजार प्रवद्र्धन तीव्र बनाइएको छ । यसबीचमा कर्मचारीको चार महिनाको बक्यौता तलब निकासा भएको छ भने रु ५० लाख ऋण चुक्ता भएको छ । ‘गरिमा’ साहित्यिक मासिकले निरन्तरता पाएको छ, छपाइ कागज पहिलाको भन्दा प्रतिकिलो रु २३ सस्तोमा खरिद गरिएकोे छ ।

आउँदो छ महिनाभित्र साधारणसभाको आयोजना र स्थगित पुरस्कार वितरणको योजना बनाइएको छ । केही कर्मचारी र पूर्वसञ्चालकबाट भएको आर्थिक अनियमितताबापतका रकम असुली गर्न थालिएको छ । प्रकाशनले आफ्नो व्यावसायिक क्षमता बढाउँदै कार्यालय समयमा मात्रै ती केन्द्र खुल्दै आएका सबै (१५) बिक्री केन्द्रलाई छ महिनाअघिदेखि बिहान ६ बजेदेखि सञ्चालन गरेको छ ।

तत्कालीन सरकारले विसं १९७० मा नेपाली भाषाको संरक्षण र प्रबद्र्धनका लागि स्थापना गरेको ‘गोरखा भाषा प्रकाशिनी समिति’ सहकारी ऐनअन्तर्गत २०२१ सालमा साझा प्रकाशनमा रुपान्तरण भयो । विसं २०६० अघिसम्म साझाले विद्यालय तहका पाठ्यपुस्तक एकछत्र बिक्री वितरण गर्दै आएकामा त्यसपछि केही दातृ निकायको दबाबमा विद्यालयस्तरका पाठ्यपुस्तक उत्पादन र वितरणमा निजी क्षेत्रलाई सहभागिता गराउने नीतिगत व्यवस्थापछि यसको कारोबार खस्क्यो । अन्य आयको व्यवस्था गरिएन । साथै सञ्चालक र कर्मचारीका स्वार्थ तथा कलहका कारण प्रकाशन क्रमशः डुब्दै गयो ।

तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक ममता झा अनियमितताका आरोपमा निलम्बन भएपछि केही समय शिक्षा मन्त्रालयका सहसचिव दिवाकर ढुङ्गेलले दैनिक कार्यसञ्चालनको जिम्मेवारी पाउनुभएको छ । छ महिनाअघि शर्मा महाप्रबन्धकमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया