तल्लो मोदी एक जलविद्युत् मर्मत गर्न दुई महिना लाग्ने बाढीका कारण ३० करोड क्षति

इनेप्लिज २०७२ साउन १६ गते ४:३९ मा प्रकाशित

फलेवास (पर्वत), १६ साउन । अविरल वर्षाका कारण मोदीखोलामा आएको बाढीले पर्वतको चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत् आयोजनामा करिव रु ३० करोडको क्षति पुगेको छ ।

विद्युत्गृहको सुरक्षाका लागि लगाएको पर्खाल भत्केर विद्युत्गृहमा बाढी पसेपछि सबैभन्दा ठूलो क्षति पुगेको छ । विद्युत्गृह पानीले भरिएपछि इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामान काम नलाग्ने अवस्थामा पुगेका छन् ।

“विद्युत्गृह र अन्य भौतिक संरचनामा गरी रु ३० करोडको क्षति पुगेको प्रारम्भिक अनुमान गरेका छौँ” आयोजनाका निर्देशक उपेन्द्र गौतमले बताउनुभयो । गौतमले भन्नुभयो– “विद्युत्गृहभित्रका उपकरण खोलेर हेरेपछि मात्रै क्षतिको यकिन तथ्याङ्क आउँछ” बाढीले १२५ केभिए क्षमताको जेनेरेटर बगाएको छ ।

निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत् उत्पादन थालेको थियो । आयोजनामा बाढीले क्षति पु¥याएपछि दुई महिनाभन्दा बढी लामो समय लाग्ने जानकारी निर्देशक गौतमले दिनुभयो । इलेक्ट्रोमेकानिकल कामका लागि विदेशबाट प्राविधिक आउनुपर्ने भएकाले मर्मतका लागि समय लाग्ने उहाँको भनाइ छ ।

आयोजना दुई महिनासम्म बन्द हुँदा आयोजनालाई रु २० करोडभन्दा बढी घाटा हुने निर्देशक गौतमले बताउनुभयो । एक दिन विद्युत् बन्द हुँदा रु आठ लाखभन्दा बढी क्षति हुन्छ ।

यसैबीच बाढी र पहिरोका कारण पर्वतको देउपुरस्थित १४ दशमलव ८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्रमा पनि उत्पादन बन्द भएको छ ।

पर्वतको तिलहार गाविस–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पु¥याएपछि मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । प्रसारण लाइन अवरुद्ध भएपछि इन्टेकमा विद्युत् आपूर्ति नहुँदा उत्पादन बन्द भएको मोदीखोला जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया