निर्माणाधीन कभर्डहल भाँसियो

इनेप्लिज २०७२ साउन १६ गते १:४७ मा प्रकाशित

Baglung_district_locationबलेवा (बागलुङ), १६ साउन । जिल्लाको रामरेखामा निर्माणाधीन कभर्डहल भाँसिएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको बाङ्गेचौर खेल मैदानसँगै निर्माण गर्न थालिएको तेक्वान्डोको कभर्डहलसहित वरपरको जमिन पनि भाँसिएको छ । अविरल वर्षाका कारण सदरमुकामबाट बगेको पानी सोही स्थानबाट बग्ने गरेको छ । तेक्वान्डोको निर्माणाधीन भवनका छवटा पिल्लर, पर्खाल र करिब दुई रोपनी जमिन भाँसिएको छ ।

जमिन चर्केसँगै जुनसुकै समयमा पनि पहिरो जानसक्ने हुँदा ५०० मिटर तल रहेको पोखरा बागलुङ सडकमा समेत जोखिममा परेको छ । सो स्थानमा बागलुङ नगरपालिकाको रु चार लाख र खेलकुद विकास समितिको रु एक लाख ५० हजार गरी रु पाँच लाख ५० हजारको लागतमा कभर्डहल निर्माण सुरु गरिएको हो ।

खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष धर्मराज शर्माले जमिन भाँसिएकाले निर्माणाधीन कभर्डहल निर्माण हुने वा नहुने अवस्थामा पुगेको र निर्माण भएमा पनि पुनःलाखौं रकम खर्च लाग्ने बताउनुभयो ।

के कारणले जमिन भाँसिएको भनी अध्ययन गर्न बागलुङ नगरपालिका प्रमुखसहित इन्जिनियरको टोली त्यहाँ पुगेको छ ।

अत्यधिक मात्रामा बगेको पानीले जमिन भाँसिनुका साथै चर्किएका कारण जुनसुकै समयमा पनि पहिरो जानसक्ने अवस्थामा रहेको बागलुङ नगरपालिका कार्यकारी अधिकृत हरिदत्त कँडेलले बताउनुभयो ।

प्रतिक्रिया