छत्तीस हजार बालबालिकालाई रुबेला, दादुराविरुद्ध खोप दिइने

इनेप्लिज २०७२ साउन १५ गते १४:१९ मा प्रकाशित

kp_913359931बनेपा, १५ साउन । छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा रुबेला र दादुराको सम्भावित जोखिमबाट बचाउन काभ्रेपलाञ्चोकका ३६ हजार ६६१ बालबालिकालाई रुबेला, दादुरा खोप र पोलियो थोपा खुवाइने भएको छ ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाको संयोजकत्वमा जिल्ला खोप समन्वय समितिको आज धुलिखेलमा बसेको सरोकारवालाको बैठकले सो निर्णय गरेको हो ।

यही साउन ३० गतेदेखि तीन चरणमा सञ्चालन हुने रुबेला, दादुराविरुद्धको खोप र पोलियो थोपा खुवाउन जिल्लामा ११२ सुपरभाइजर र ३८० जना खोप कार्यकर्ता परिचालन हुने स्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत नारायण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा कोसीपारिका १७ गाविस, पाँचखाल नगरपालिका आसापासका आठ गाविसमा साउन ३० गतदेखि भदौ ७ गतेसम्म, दोस्रो चरणमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, काशीखण्ड नगरपालिका, मेथिनकोट आसापसका चार गाविस, तिमालका सात गाविस, मङ्गलटार आसपासका पाँच गाविसमा भदौ ८ देखि १६ गतेसम्म, तेस्रो चरणमा उग्रचण्डीनाला आसपासका आठ गाविस, पनौती नगरपालिका, सुन्थान आसपासका चार गाविस, डाँडापारि क्षेत्रका १० गाविसमा भदौ २० देखि २८ गतेसम्म खोप र पोलियो थोपा खुवाइनेछ ।

खोप अधिकृत केसीले भूकम्पका कारण स्थानान्तरण भएका बालबालिकालाई लक्षित गरेर स्थानान्तरण भएको क्षेत्र र विद्यालयमा समेत खोप केन्द्र स्थापना गरिने बताउनुभयो ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन माइकिङ, पर्चा, तालिम तथा अभिमुखीकरणलगायत कार्यक्रम सुरु भइसकेको उल्लेख गर्दै उहाँले निमन्त्रणा कार्ड अभिभावकको घरघरमा वितरण गरेर बालबालिकालाई खोप दिइनेछ भन्नुभयो ।

सरकारले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा रुबेला, दादुराविरुद्धको खोप र पोलियो थोपा खुवाउने कार्यक्रम सुरु गर्न लागेको हो । सरकारले सन् २०२० सम्ममा दादुरा निवारण र रुबेला नियन्त्रण गर्ने लक्ष्यसमेत लिएको छ ।

प्रतिक्रिया