एक महिनाको अवधिमा तीन बुहारीको हत्या

इनेप्लिज २०७२ साउन १५ गते १२:२२ मा प्रकाशित

hatya-imageरौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ ।

बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् ।

स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई हालैमात्र चरित्रमाथि प्रश्न उठाउँदै उनका श्रीमान्सहित घरपरिवारका सदस्यले कुटेर हत्या गरेका थिए ।

वैदेशिक रोजगारीमा भारतको दिल्लीमा रहेका श्रीमान् शेष जामुन घरआएपछि उनका बुबा शेख सम्सुदले बुहारीको चरित्र खराब रहेको बताएपछि घरका सबै सदस्य मिलेर कुटपिट गर्दै बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीमात्र हैन गत असार ७ गते ब्रह्मपुरी–४ बस्ने उषा साहको रहस्यमय तरिकाले जलेर मृत्यु भएको छ । उनको रहस्यमय मृत्युका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यस्तै गत असार २० गते पचरुखी गाविस–२ बस्ने २८ वर्षीया रञ्जु ठाकुरलाई श्रीमान् बली ठाकुर हजामसहितका घरपरिवारका सदस्यले हत्या गरेका थिए । ठाकुरसहित परिवारका सदस्य अझै फरार रहेका छन् ।

ठाकुरको घाँटीमा ब्लेडले चिरेर हत्या गरिएको थियो । हत्या गरिएकी ठाकुरको शव साडीले छोपेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

उनको शव माइतीपक्षले नै दाहसंस्कार गरेका थिए । खुल्ला सीमा रहेको रौतहट जिल्लामा घरपरिवारका सदस्य हत्या गरेपछि भारततर्फ फरार छन् ।

महिलामाथि हुने हिंसा र बुहारी हत्या हुने क्रम बढ्दो रहे पनि महिला अधिकारकर्मीको ध्यान अझै जान सकेको छैन ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बुहारी हत्या गरी फरार रहेकाहरुको खोजबिनमा तीव्रता दिइएको बताउनुभयो । आफ्नै घरका सदस्यबाट बुहारी विभिन्न बहानामा पीडित हुने र मृत्यु वरण हुनुपर्ने घटना बढेको भन्दै रोकथाम र न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने देखिएको छ ।

विद्यमान दाइजो प्रथाले विकराल रुप लिँदा रौतहटको ग्रामीण भेगमा बुहारी हत्या नरोकिएको मानव अधिकारकर्मी टीका घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया