चौबीस दलित छात्रालाई छात्रवृत्ति वितरण

इनेप्लिज २०७२ साउन १५ गते ४:२३ मा प्रकाशित

गौशाला, १५ साउन । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ जिल्ला कार्य समिति महोत्तरीले २४ जना दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको छ ।

सङ्घले जिल्लाका मटिहानी, सिमरदही, पर्सापतैली, सुगा, महोत्तरी, पिपरा र जलेश्वरस्थित कन्या मावि गरी आठ विद्यालयका दलित छात्रालाई छात्रवृत्ति वितरण गरेको हो । सङ्घले कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने चार छात्रालाई जोखिम छात्रवृत्ति जनही रु ५००, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने १६ छात्रालाई विशेष लक्षित छात्रवृत्ति जनही रु एक हजार २००, कक्षा ९ र १० मा अध्ययनरत तीन छात्रालाई विशेष लक्षित छात्रवृत्ति जनही रु एक हजार ५०० र कक्षा ८ देखि ९ मा पढ्ने एक छात्रालाई जोखिम छात्रवृत्ति रु एक हजार ८०० का दरले वितरण गरेको सङ्घका कार्यक्रम अधिकृत पे्रम जैरुले बताउनुभयो ।

नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत सेभ द चिल्डे«न र नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ जिल्ला कार्य समिति महोत्तरीको संयुक्त साझेदारीमा महोत्तरीको विभिन्न आठवटा विद्यालयका २४ दलित छात्राको छनोट गरी उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको जानकारी सङ्घका जिल्ला अध्यक्ष विक्रम पासवानले दिनुभयो । सङ्घले बर्सेनि जिल्लाका विभिन्न विद्यालयका दलित छात्रालाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।

प्रतिक्रिया