पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

इनेप्लिज २०७२ साउन १५ गते ४:१२ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १५ साउन । म्याग्दीको पश्चिमी क्षेत्रका एक दर्जनभन्दा बढी गाविसलाई सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडक बिहीबारदेखि अवरुद्ध भएको छ ।

बाबियाचौर गाविस–५ लाम्पाटामा पहिरो गएपछि बेनी दरवाङ सडकमा सिधा सवारी सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक अवरुद्ध हुँदा पश्चिमी क्षेत्रको बाबियाचौर, अर्मन, निस्कोट, बिम, मल्कवाङ, देविस्थान, मराङ, रुम, ओखरबोट, ताकम, मुना, मुदी, लुलाङ, गुर्जा र दरवाङ गाविसका बासिन्दालाई सदरमुकाम बेनी आउन जान समस्या भएको छ ।

यसैगरी जिल्लाको दोस्रो व्यापारिक केन्द्र मानिने दरवाङ बजारमा दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । लाम्पाटामा करिब ८० मिटर सडक पहिरोले बगाएको छ । लाम्पाटाको पहिरोले विगत चार वर्षदेखि बर्खायाममा सडक अवरुद्ध भएर पश्चिम म्याग्दीको जनजीवन प्रभावित भए पनि पहिरो नियन्त्रणका लागि सरोकारवाला निकायले गम्भीर भएर पहल नगरेको स्थानीयवासीको गुनासो छ ।

दरगाउँ पहिरोको जोखिममा

भूकम्प र परकम्पका कारण चर्किएको बस्ती माथिको पहाडबाट पहिरो खस्न थालेपछि म्याग्दीको दर गाउँ जोखिममा परेको छ ।

मुना गाविस–७, ८ र ९ मा पर्ने दर गाउँभन्दा माथि रहेको पहाडबाट केही दिनदेखि पहिरो खस्न थालेको छ । धाँजा फाटेको पहाड भारी वर्षाले भिजेर पहिरो खस्दा बारीमा लगाएको मकै र कोदो बालीलाई क्षति गरेको स्थानीयवासी बेलबहादुर पाइजाले बताउनुभयो ।

दरगाउँमा सय घरधुरीको बसोबास रहेको छ । जसमध्ये १५ घर उच्च जोखिममा रहेको पाइजाले बताउनुभयो । पहिरोको जोखिम अध्ययन गरिदिन दरवासीले सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
पहिरोका कारण धनजनको क्षति हुन नदिन सतर्कता अपनाएको र जिल्ला प्रशासन कार्यालयमा बिहीबार यस बारेमा जानकारी गराएको मुनाका गाविस सचिव विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया