डोल्पामा पहिलोपटक ट्युमरको सफल शल्यक्रिया

इनेप्लिज २०७२ साउन १४ गते १५:०४ मा प्रकाशित

Rss_Images_1438247094294_SS-Dolpa-Tumoreत्रिपुराकोट (डोल्पा), १४ साउन । दुई हप्ता अगाडि जुम्लाबाट डोल्पा आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले पहिलोपटक यहाँ शल्यक्रिया सेवा दिएको छ ।

प्रतिष्ठानको घुम्ती टोलीले बुधबार दिउँसो डोल्पा जिल्लाको एकमात्र सरकारी जिल्ला अस्पतालमा ६१ वर्षीया महिलाको ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

करिब एक घन्टाको शल्यक्रियापछि ती महिलाको पेटबाट चार किलो बराबरको ट्युमर झिकिएका डा निरेश थापाले जानकारी दिनुभयो ।

लिकु गाविस–३ चँु की जमुना रोकायको शल्यक्रिया गरिएको हो ।

दश वर्ष अगाडि श्रीमान् गुमाएकी ६१ वर्षीया रोकाय गाउँलेले अरुको गर्भ बोकेको भन्दै कुरा काट्न थालेपछि स्वास्थ्य जाँचका लागि अस्पताल आएकी हुन् ।
अस्पतालमा आएर भिडियो एक्सरे गरेपछि पेटभित्र ट्युमर भएको पत्ता लाग्यो ।

जिल्ला बाहिर लगिए रु दुई लाखसम्म खर्च लाग्थ्यो तर उनको निःशुल्क उपचार सम्भव भयो । आफू जस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न सर्वसाधारणलाई प्रतिष्ठानको टोलीले ठूलो सहयोग पु¥याइररहेको उनले बताइन् ।

उक्त टोलीले आएको दुई हप्ता नपुग्दै पाँचवटा शल्यक्रिया सम्पन्न गरिसकेको छ ।

शल्यक्रियापछि रोकायको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया