जग्गा र चन्दादाता सम्मानित

इनेप्लिज २०७२ साउन १४ गते ३:०२ मा प्रकाशित

ilam_nepal_mapइलाम, १४ साउन । दानाबारीस्थित लोदिया प्रहरी चौकीले जग्गादाता र चन्दादातालाई बुधबार यहाँ एक कार्यक्रमबीच सम्मान गरेको छ ।

प्रहरी चौकीमा नवनिर्मित भान्सा घर र मन्दिर उद्घाटन समारोहमा चौकी निर्माणका लागि रु ४८ लाख मूल्य बराबरको तीन रोपनी जग्गा दान गर्ने दानाबारी–२ का शङ्करप्रसाद श्रेष्ठ र रु ३२ लाख मूल्य बराबरको दुई रोपनी जग्गा दान गर्ने स्थानीय नमुना सामुदायिक वन उपभोक्ता समूहलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रहरी चौकीमा भवन आधुनिक भए पनि भान्सा घर भने झुप्रो भइरहेका बेला स्थानीयवासीले चन्दा सङ्कलन गरेर पक्की भान्सा घर र मन्दिरसमेत निर्माण गरिदिएका छन् ।

करिब दुई लाख २० हजार आर्थिक तथा त्यति नै मूल्य बराबरको जिन्सी सहयोगमा भान्सा घर र मन्दिर निर्माण गरिएको चौकीका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

समारोहमा इलामका प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जग्गादाता र चन्दादातालाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गर्नुभयो । स्थानीयवासीले प्रहरी चौकीलाई गरेको सहयोग अतुलनीय रहेको भन्दै उहाँले यस क्षेत्रका विकासमा आफूले पनि जिल्लाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया