तिलोत्तमा गोल्ड कपको पैसाले गोरखामा विद्यालय भवन निर्माण

इनेप्लिज २०७२ साउन १४ गते २:१० मा प्रकाशित

गोरखाबजार, १४ साउन । भूकम्पले भत्काएको गोरखाको मिरकोट गाविस–५ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधात्मक नयाँ भवन निर्माण भएको छ ।

रुपन्देही जिल्ला फुटबल सङ्घले रु १३ लाखको लगानीमा आठकोठे विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । “तिलोत्तमा गोल्ड कपबाट बचेको रु नौ लाख कार्यसमितिका साथीहरुबाट सङ्कलन गरिएको र रु चार लाख थपेर विद्यालय भवन बनाएका हौँ”, सङ्घका अध्यक्ष दीर्घबहादुर केसीले भन्नुभयो, “भूकम्पपीडित क्षेत्रको शिक्षामा लगानी गर्न पाउँदा हामी खुसी छौँ ।”

भूकम्पले विद्यालय भवन भगनावशेष मात्रै बाँकी रहेपछि विद्यालयले रु पाँच लाखमा किनेको जग्गामा हामीले भवन बनायौँ”, उहाँले भन्नुभयो । आठकोठे भवनमा दुई कोठा शिक्षकका लागि छुट्याएको छ । त्यसमध्ये एउटा कोठा कार्यालय प्रयोजनका लागि र अर्कोमा पुस्तकालय राख्ने तयारी गरिएको छ ।

विद्यालयका प्रध्यानाध्यापक नारायणबाबु पाण्डेले भवन निर्माणमा सहयोग गर्ने रुपन्देही जिल्ला फुटबल सङ्घलाई धन्यवाद दिँदै आगामी दिनमा विद्यालयका लागि भौतिक निर्माणका साथै पुस्तकालय स्थापनामा पनि सहयोगको हात बढाउन सङ्घलाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले विद्यालय भवनको उद्घाटन गर्दै गाउँमा राम्रो विद्यालय सञ्चालन गर्न सके मात्रै ग्रामीण भेगका बालबालिकाको शिक्षाको गुणस्तर उकासिने बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले जिल्लाभरका ४९५ विद्यालय भवन भत्केको बताउँदै सङ्घसंस्थाको सहयोगमा अस्थायी टहरो निर्माण सुरु गरिएको जानकारी दिनुभयो । कार्यालयले प्रत्येक विद्यालयलाई टहरो बनाउन रु २५ हजारका दरले रकम उपलब्ध गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया