बाघको बासस्थान राम्रो हुँदा मानवमाथिको आक्रमण घट्यो
चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनमा बासस्थान राम्रो बनेसँगै बाघको सङ्ख्या बढ्दै गएको छ । मानव बस्तीमा आएर मान्छे र घरपालुवा माथिको आक्रमण समेत घटेर गएको छ ।
पछिल्लो गणनाअनुसार, नेपालका पाँच वटा निकुञ्ज र आरक्ष क्षेत्रमा १९८ वटा बाघ रहेका छन् जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२० वटा बाघ रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरका अनुसार बाघको सङ्ख्या बढेसँगै उचित बासस्थानका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका काम निकुञ्जले गरेको छ ।
बाघलाई प्रशस्त पानी चाहिने हुँदा पानीको व्यवस्था गरिएको छ भने उसका लागि चाहिने आहारयोग्य जनावरको सङ्ख्या वृद्धिका लागिसमेत काम भएका छन् । बाघले जरायो, भालु, मृग, बाँदरजस्ता जनावरको बढी मात्रामा सिकार गर्ने गर्दछ ।
एउटै क्षेत्रमा दुई शक्तिशाली बाघ नरहने हुँदा बलियोले निर्धाेलाई खेद्ने, आक्रमण गर्ने र मार्नेसम्मका काम गर्दछ । त्यो क्षेत्रमा रहेका बाघका लागि आहाराको प्रबन्ध बढाउने काममा निकुञ्ज लागिपरेको छ ।
अन्य जनावरको भन्दा बाघको प्रकृति पृथक हुने बताउँदै प्रमुख संरक्षण अधिकृत कुँवरले बाघको सङ्ख्या बढ्दै जाँदा आहार प्रकृतिका जनावरको सङ्ख्यामा पनि वृद्धि भएको बताउनुभयो ।
निकुञ्ज विभागका महानिर्देशक टीकाराम अधिकारीले निकुञ्जभित्र र बाहिर रहेका मध्यवर्ती, सामुदायिक वन, बरन्डाभार क्षेत्र र जैविक मार्गमा बाघको व्यवस्थापन राम्रो बन्दै गएपछि सङ्ख्या पनि थपिँदै गएको बताउनुभयो । उहाँले बाघको सङ्ख्या बढ्दै गर्दा प्राकृतिक रुपमा पूरै वनक्षेत्रको भौगोलिक अवस्थामा पनि सुधार हुने बताउनुभयो ।
गत आवमा चितवन राष्ट्रिय निकुञ्जभित्र बाघले छजना मानिसको ज्यान लिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत कुँवर अघिल्ला वर्षहरुमा निकुञ्जबाहिर गएर मान्छेमाथि आक्रमण गर्ने गरेको भएपनि पछिल्लो समय निकुञ्ज बाहिर बाघले आक्रमण नगरेको बताउनुभयो ।
अघिल्लो आवमा बाघले चारजनाको ज्यान लिएको थियो । विसं २०७० वैशाखमा गीतानगरमा सामुदायिक वननजिकै रहेको एक घरमा सुतिरहेका व्यक्तिलाई बाघले आक्रमण गरेको थियो । त्यसअघि निकुञ्ज बाहिर पटकपटक बाघले मान्छेलाई आक्रमण गरेको भएपनि त्यसयता निकुञ्जबाहिर कसैलाई पनि आक्रमण नगरेको प्रमुख कुँवरले बताउनुभयो ।
निकुञ्जभित्र नै आहारको राम्रो व्यवस्थापन हुनसक्दा बाहिरको आक्रमण घटेको महानिर्देशक अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो “पहिले पहिले निकुञ्ज बाहिर आएर मानिसलाई बाघले आक्रमण गरेर धेरै क्षति पु¥यायो, पछिल्लो समय यो समस्या घटेर गएको छ ।”
निकुञ्जभित्रको बासस्थान र आहारको मात्रै होइन चोरी सिकारी नियन्त्रणमा समेत राम्रो सफलता मिलेको उहाँले बताउनुभयो । २०६८ पुसमा पर्साको निर्मलबस्तीमा चोरी सिकारीले बाघ मारेयता अहिलेसम्म बाघको चोरी सिकारीको कुनै घटना नभएको निकुञ्जले जनाएको छ ।
चोरी सिकारी नियन्त्रण अभियान सार्थक बन्नु, बाघको बासस्थान राम्रो हुनु र आहारको राम्रो प्रबन्ध निकुञ्जभित्रै हुनु बाघको सङ्ख्या बढ्नुको प्रमुख कारण भएको महानिर्देशक अधिकारीले बताउनुभयो ।
त्यसो त बाघको सङ्ख्या बढेसँगै अवैधरुपमा निकुञ्ज प्रवेश गर्नेको सङ्ख्यामा कमी आएको छ जसका कारण अन्य जनावरको चोरी सिकारीको घटनामा पनि कमी आएको अधिकारी दाबी गर्नुहुन्छ ।
निकुञ्जले गएको आवलाई गैँडाको शून्य सिकार वर्षका रुपमा मनाएको थियो । पहिले निकै चोरी सिकारी हुने गरेको दुर्लभ एकसिङ्गे गैँडासमेत मारिने क्रम शून्यमा झरेको छ । निकुञ्जले सशस्त्र द्वन्द्वताका सातवटामा झरेको पोस्ट बढाएर ५३ वटा पु¥याएको छ ।
गत आवमा मात्रै माडीको घाघर र नवलपरासीको भुताहामा नयाँ पोस्ट थप गरेको निकुञ्जले जनाएको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्ला फाँटामा १७, बाँकेमा चार र पर्सा वन्यजन्तु आरक्षमा सात गरी १९८ वटा बाघ रहेको तथ्याङ्क छ ।
महानिर्देशक अधिकारी बाघको सङ्ख्या घट्न नदिएर यही अवस्थामा संरक्षण गर्नसके त्यो नै ठूलो उपलब्धि हुने बताउनुहुन्छ ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया