म्याग्दीमा सात वटा नयाँ झोलुङ्गे पुल निर्माण

इनेप्लिज २०७२ साउन १२ गते ४:३८ मा प्रकाशित

jholungeम्याग्दी, १२ साउन । म्याग्दीमा आव २०७१/७२ मा सात वटा नयाँ झोलुङ्गे पुलको निर्माण भएको छ । जिल्ला विकास समितिद्वारा म्याग्दीका विभिन्न स्थानमा सात वटा झोलङ्गे पुल निर्माण भएपछि सम्बन्धित क्षेत्रका आठ हजारभन्दा बढी मानिस लाभान्वित भएका छन् ।

दोवामा गरिल्ला झोलुङ्गे पुल, दरबाङ र देवीस्थान जोड्ने फेदी खोला, मुना र मुदी जोड्ने दरखोला, अर्मनमा मुसल ढुङ्गामा झोपु निर्माण सम्पन्न भएको छ । त्यस्तै बाबियाचौर र बरङ्जा जोड्ने बान्द्रे सिम, जेम खोला रुम र उत्तिसीनी खोला बेगमा गरी सात वटा नयाँ झोलुङ्गे पुल निर्माण भएको जिविस म्याग्दीका सव इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

नव निर्मित सात वटा पुल रु २५ लाखदेखि ४० लाखसम्मको लगानीमा निर्माण भएको बताइएको छ । नयाँ झोलुङ्गे पुलको माग तीव्र रुपमा बढेको पाइएको छ । जिविसमा अझै पनि २०५ वटा झोलुङ्गे पुलको माग भएको स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलले बताउनुभयो ।

त्यसैगरी गत आवमा नियमित मर्मततर्फ ११९ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न भएको छ । झोलुङ्गे पुलको सामान्य कमजोरीले कुनै पनि क्षति नहोस् भन्ने उद्देश्य र पुलको नियमित रेखदेखका लागि स्थानीय मानिसलाई वार्षिक रुपमा रेखदेख गर्न राखेर नियमित मर्मत गर्ने गरिएको जिविसका प्राविधिक पौडेलले जानकारी बताउनुभयो ।

प्रतिक्रिया