प्रधानमन्त्रीद्वारा शोक व्यक्त

इनेप्लिज २०७२ साउन १२ गते १:१३ मा प्रकाशित

Sushil Koirala_20140301085610_20140302034240काठमाडौँ, १२ साउन । प्रधानमन्त्री सुशील कोइरालाले भारतका पूर्व राष्ट्रपति डा एपिजे अब्दुल कलामको ८४ वर्षको उमेरमा हिजो निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा पूर्व राष्ट्रपति डा कलामको निधनको खबरले म अत्यन्त मर्माहत भएको छु र यस दुःखद् घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दछु भनिएको छ ।

प्रधानमन्त्री कोइरालाले भारत शोकाकुल भएको यस क्षणमा आफ्नो व्यक्तिगत, नेपाल सरकार र नेपाली जनताका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँमार्फत भारत सरकार, स्व कलामका स्वजनसहित समस्त भारतीय जनतामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतलाई वैज्ञानिक क्षेत्रमा उन्नति र प्रगतिको मार्गमा हिँडाउन डा कलामले गर्नुभएको योगदान अविश्मरणीय रहेको चर्चा गर्दै प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट भारतले मुलुकको उन्नति र प्रगतिप्रति सदा समर्पित पूर्व राष्ट्रपति र वैज्ञानिक गुमाएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ “नेपालले एक असल मित्र गुमाएको छ । मैले एक श्रद्धेय एवम् आदर्श व्यक्तित्व सदाको लागि गुमाएको छु ।”

प्रधानमन्त्रीले शोकको यस घडीमा समस्त भारतीय जनतालाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया