रासायनिक मलमा ठेकेदारद्वारा कृषकमाथि ठगी

इनेप्लिज २०७२ साउन ११ गते ४:०९ मा प्रकाशित

Fertilizerखोटाङ, ११ साउन । जिल्लामा बिक्री गरिएको रासायनिक मलमा ठेकेदारले कृषकमाथि ठगी गरेको पाइएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रमा बिक्री गरिएको रासायनिक मल (युरिया)मा प्रतिबोरा रु १६२ का दरले कृषकलाई ठगी गरेको पाइएको हो ।

सरकारी दररेटअनुसार प्रतिबोरा रु ९३८ मा पाइने ५० किलो युरिया मलमा स्थानीय ठेकेदारले रु १६२ ठगी गरेर रु एक हजार १०० का दरले बिक्री गरेको कृषकले बताएका छन् ।

स्थानीयस्तरमा बिक्री गर्ने जिम्मा लिएका दुर्छिम–५ का ठेकेदार मकर राईले आफूसँग प्रतिबोरा रु एक हजार १०० लिएको दुर्छिम–१ का चतुुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “कति रुपैयाँमा पाइन्छ भन्ने कुरा मलाई थाहा छैन तर, हाम्रै गाउँका मकरले प्रतिबोरा रु एक हजार १०० का दरले बिक्री गर्नुभएको छ ।”

मकर राईले दिक्तेलका उपिन राईमार्फत हलेसीदेखि पश्चिमी क्षेत्रमा पर्ने दुर्छिम, बडहरे, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा गाविसमा बसोबास गर्ने कृषकका लागि मल बिक्री गर्ने जिम्मा लिएका थिए ।

हलेसीमा उपिन राई आफैँले रु ९५० मा बिक्री गरेको कृषकले बताएका छन् । कृषकलाई बिक्री गरिएको मलबाट मोबाइल खर्चबापत केही रकम आफूले लिएको मकरले स्वीकार गर्नुभएको छ ।

आफूले सरकारी दररेटबाहेक एक रुपैयाँ पनि नलिएको ठेकेदार उपिन राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले सरकारले निर्धारण गरेको रु ९३८ मात्रै लिएको छु, साथीहरुले कहाँ के गर्नुभयो मलाई थाहा छैन ।”

कृषक ठगिएको थाहा पाएपछि त्यसो नगर्न आफूले आग्रह गरे पनि उहाँहरुले अवैधानिक तरिकाले कृषकबाट रकम लिएको इलाका कृषि सेवा केन्द्र हलेसीका प्रमुख शिवानन्द मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सरकारी दररेटभन्दा बढी रकम लिन नपाउने कुरा जानकारी गराएकै हो, तर उहाँहरुले लिनुभएको छ , यसबारेमा कृषक बोल्नेवाला छन् ।”

जिल्लाको पश्चिमी क्षेत्रमा वितरण गरिएको रासायनिक मलमा ठेकेदारले ठगी गरेको कुरा कृषकबाट आएकाले उनीहरुलाई कारबाही हुनुपर्ने राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “निक्कै ठूलो प्रयासपछि ढुवानीदर र मूल्य घटाइएको थियो, यसमा पनि ठेकेदारले ठगी गरेको गुनासो आएको छ । उनीहरुलाई कारबाही हुनुपर्छ ।”

जिल्लामा वितरण गरिएको मलमा एक पैसा पनि लिन नपाइने जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै वितरण केन्द्रसम्म पु¥याउन कार्यालयबाट ढुवानी खर्च उपलब्ध गराइएको छ, यदि त्यसो हो भने, त्यस्ता व्यक्तिमाथि कारबाही हुन्छ ।”

हलेसी केन्द्रमार्फत यस वर्ष ५५ मेट्रिक टन रासायनिक मल बिक्री÷वितरण भएको कृषि कार्यालयले जनाएको छ । डिएपी प्रतिकिलो ४५ रुपैयाँ ७६ पैसा र युरिया प्रतिकिलो १८ रुपैयाँ ७६ पैसामा खरिद तथा बिक्री गर्न पाउने गरी दररेट निर्धारण गरिएको छ ।

जिल्लामा यस वर्ष १९५ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।

जिल्लामा अन्य व्यापारीले पनि बिना अनुमति रासायनिक मल खुलेआमरुपमा बिक्री गरिरहेको पाइएको छ । तर कार्यालयको अनुमति बिना कसैले पनि रासायनिक मल बिक्री गर्न नपाउने रिजालको भनाइ छ ।

प्रतिक्रिया