उपल्लो मुस्ताङमा चार सय अवैध चिनियाँ मोटरसाइकल

इनेप्लिज २०७२ साउन ११ गते ४:०३ मा प्रकाशित

motercyमुस्ताङ, ११ साउन । उपल्लो मुस्ताङमा करिब ४०० अवैध चिनियाँ मोटरसाइकल सञ्चालन भइरहेको छ ।

सरकारी निगरानी नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ र घमी गाविसमा वर्षौंदेखि त्यस्ता मोटरसाइकल सञ्चालनमा रहेको पाइएको हो ।

सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय सदरमुकाम केन्द्रित हुँदा कोरला नाकाबाट ती मोटरसाइकल भित्रिएको स्थानीयको भनाइ छ ।

उपल्लो मुस्ताङ र चिनियाँ व्यापारीबीच वर्षको दुईपटक आयोजना हुने व्यापारी मेलामा भन्सार शुल्क नतिरी स्थानीयले घोडा बेचेर ती मोटरसाइकल खरिद गरेको पाइएको सीमा प्रशासन कार्यालय लोमान्थाङका प्रमुख कृष्णराज ढकालले जानकारी दिनुभयो ।

सरकारले गत असार महिनामा सीमा प्रशासन र भन्सार कार्यालय दुवै सञ्चालनमा ल्याएपछि अवैध मोटरसाइकललाई कानुनी प्रक्रियामा ल्याउने पहल सुरु भएको प्रमुख ढकालको भनाइ छ ।

“त्यसका लागि स्थानीयवासीसँग पहिलो चरणमा छलफल गरेको छौँ, सरकारी निकाय नहुँदा यसो भएको भनेर उहाँहरुले पनि भन्नुभएको छ, प्रमुख ढकालले भन्नुभयो, “भदौ २२ गतेभित्र हामीले यो काम गर्नेछौँ ।” भन्सार शुल्क तिर्न नपर्ने भएपछि स्थानीयवासीले आफूले वर्षौंदेखि प्रयोग गर्दै आएका घोडा बेचेर मोटरसाइकल खरिद गरेका थिए ।

उपल्लो मुस्ताङमा कालीगण्डकी करिडोरअन्तर्गत सडक विस्तार भएसँगै ती मोटरसाइकल भित्रिएको प्रशासनले जनाएको छ । भदौ २२ गतेपछि पनि त्यस्ता मोटरसाइकल नबुझाए प्रहरीले नियन्त्रणमा लिने लिलाम प्रक्रियामार्फत कानुनी दायरामा जाने प्रमुख ढकालको भनाइ छ ।

प्रतिक्रिया