अस्पतालको सेवा सञ्चालन

इनेप्लिज २०७२ साउन ११ गते ३:५८ मा प्रकाशित

धनगढी, ११ साउन । कर्मचारी आन्दोलनका कारण विगत दश दिनदेखि सेवा अवरुद्ध भएको कैलाली जिल्लाको गेटा आँखा अस्पतालको उपचार सेवा आजबाट सञ्चालन गर्ने सहमति भएको छ ।

अस्पताल प्रशासन, नेपाल नेत्र ज्योति सङ्घ, आन्दोलनरत कर्मचारी र नेपाल ट्रेड युनियन महासङ्घ(जिफण्ड)का प्रतिनिधि सहभागी आइतबारको वार्ताले अवकाश प्राप्त अस्पतालका कर्मचारी पुस्कर शर्माको करार अवधि थप्ने विषयमा नेपाल नेत्र ज्योति सङ्घ केन्द्रीय कार्यालयमा सिफारस गरी पठाउनेलगायतका चारबुँदे आचारसंहिता बनाएपछि आजबाट कर्मचारी काममा फर्किन लागेको आन्दोलनको नेतृत्व गरेका नेत्र अधिकृत गणेश चौधरीले बताउनुभयो ।

अस्पतालका निर्देशकले मनोमानीरुपमा काम गरेकाले उहाँको राजीनामा आउनुपर्ने, अस्पतालभित्र सुधार ल्याउनुपर्ने, करार सेवामा कार्यरत कर्मचारी पुस्कर शर्माको करार अवधि थप्नुपर्नेलगायतका माग राख्दै कर्मचारीले धर्ना र नाराबाजी गर्दै विरोध गरेपछि अस्पतालको सेवा दश दिनदेखि प्रभावित भएको थियो ।

करिब ३५ वर्षअघि स्थापना भएको गेटा आँखा अस्पतालमा यो अवधिमा कर्मचारीले आन्दोलन गरेको यो पहिलो घटना हो । अस्पतालमा नेपाल र भारतका लाखौँ आँखा रोगका बिरामी बर्सेनि उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया