सर्वसाधारणले बुझ्ने विम्बको प्रयोगमा ध्यान दिन आग्रह

इनेप्लिज २०७२ साउन १० गते १:५७ मा प्रकाशित

काठमाडौँ, १० साउन । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको आयोजना र जन साहित्यिक मञ्च, नेपालको व्यवस्थापनमा अविरल जनसाहित्य यात्रा–१६’ मा कवि रमेश श्रेष्ठको एकल कविता वाचन सम्पन्न भयो ।

उहाँले ‘मेरो बिहानको शुभारम्भ’, ‘पहाड छैन’, ‘नदी उत्सव’, ‘कविको देश’, ‘ईश्वरको हत्या’, ‘बाघ’, ‘गिद्धस्वप्न’, ‘कविताको उज्यालो’, ‘सम्पादकलाई चिठी’, ‘माटो’, ‘आमा र अक्षरहरू’, ‘कवि र देश’, ‘प्रार्थना’, ‘म्युजियम’, ‘कविताको अस्पताल’, ‘शिर’ र ‘उत्कण्ठा विम्ब’ र ‘काली दमिनी’ शीर्षकको कविता वाचन गर्नुभयो । उहाँलाई कविता वाचनमा जयन्ती स्पन्दनले साथ दिनुभएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले कवि श्रेष्ठ भिन्न खालको शैली र शिल्प लिएर कवितामा देखिएको बताउँदै सर्वसाधारणले बुझ्न सक्ने विम्बको प्रयोगमा ध्यान दिन सुझाव दिनुभयो ।
महासङ्घका अध्यक्ष खगेन्द्र राईले कविता वाचन कार्यक्रमको गुणस्तर निकै वृद्धि भइरहेकामा सन्तोष व्यक्त गर्नुभयो । जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले देशभरि छरिएर रहेका सामाजिक रूपान्तरणको अभियानमा साहित्यलाई साधन बनाएर होमिएका स्रष्टालाई मञ्चले स्थान दिँदै आएको जानकारी दिनुभयो ।

वाचित कवितामाथि टिप्पणी गर्दै प्रा डा कृष्णप्रसाद घिमिरेले कवितामा माक्र्सवादी चिन्तन स्पष्ट देखापरेको, विम्ब र प्रतीकको सुन्दर संयोजन पाइएको, द्वन्द्वको अवस्थाको मर्मस्पर्शी चित्रण गरिएको र समाज रूपान्तरणको स्पष्ट सन्देश दिइएको छ भन्नुभयो । मञ्चको काव्य विभागका संयोजक डा विन्दु शर्माले उहाँको कविताका विषयमा दृश्यात्मकता पाइने, शैलीमा वर्णनात्मकता, सशक्त विम्बको प्रयोग, उत्पीडित वर्गको पक्षमा वकालत, माक्र्सवादी पर्यावरणीय चेतनाको अभिव्यक्ति पाइने बताउनुभयो ।

मञ्चका उपाध्यक्ष रमेश पोखरेलले नेपाली समाजको रूपान्तरण अभियानमा योगदान गरिरहने वरिष्ठदेखि हालसम्मका स्रष्टालाई उपस्थित गराएर कविता, गीत, गजल वाचन गर्न लगाउने र स्रष्टाको व्यक्तित्व तथा कृतित्वका बारेमा समीक्षात्मक टिप्पणी गरी व्यक्तित्व उजागर गर्न सहयोग गर्ने उद्देश्यले सोह्र महिनाअघि थालनी गरिएको जनसाहित्ययात्राका क्रममा आगामी महिना कवि मिश्र वैजयन्तीलाई प्रस्तुत गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया