जनताका सुझावलाई संविधानमा समेट्छौँ: उपप्रम सिंह

इनेप्लिज २०७२ साउन ९ गते ८:५६ मा प्रकाशित

Prakashman-signकाठमाडौँ, ९ साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि आएको जनताको सुझाव सकेसम्म समेटेर संविधान जारी गरिने बताउनुभएको छ ।

रत्नराज्यलक्षमी उमाविले आज यहाँ आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले छोटो समयमा विभिन्न राजनीतिक दलको सहमतिमा आएको मस्यौदा भएकाले केही कमजोरी भए पनि त्यसलाई सुझावका आधारमा परिमार्जन गरिने बताउनुभयो । “यो विज्ञहरुले बनाएको मस्यौँदा हैन, सबै दलका विचार र भावना समेटिएको सहमतिको दस्तावेज हो, जनताबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका छन्, तिनलाई संविधान संशोनका क्रममा समेटिनेछ,”–उपप्रधानमन्त्री सिंहले भन्नुभयो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्ना पहलमा विद्यालय प्राङ्गणमा निर्मित पाँच टहराको साँचो विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालयका प्राचार्य डा गीता खरेल शिवाकोटीले सामुदायिक विद्यालयमा देशकै सबैभन्दा बढी विद्यार्थी र गुणस्तरीय पठनपाठन रहेको विद्यालयलाई नमुना विद्यालय बनाउन लागिपरेको जानकारी दिनुभयो । सो अवसरमा विद्यालयका अवकाशप्राप्त शिक्षक, समाजसेवी तथा प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई पुरस्कार तथा सम्मान दिइएको थियो ।

प्रतिक्रिया