कञ्चनपुरका शतप्रतिशत बालबालिकामा खोपको पहुँच

इनेप्लिज २०७२ साउन ९ गते ४:०० मा प्रकाशित

vaccination_20130420095812कञ्चनपुर, ९ साउन । कञ्चनपुरका शतप्रतिशत बालबालिकामा खोपको पहुँच पुगेको छ । जन्मेदेखि एक वर्षसम्मका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पाएका हुन् ।

खोप लगाउने उमेरका नौ हजार ५०० बालबालिकाले सम्पूर्ण खोपको मात्रा पाएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका खोप अधिकृत दिलबहादुर शाहीले बताउनुभयो । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई बिसिजी, डिपिटी, हेपबीहिव, पोलियो, दादुरालगायतका खोप लगाएर आठ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने उहाँले बताउनुभयो ।

क्षयरोग, धनुष्टङ्कार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनीज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ ।

बालबालिकाले खोपका सबै मात्रा पाए पछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाविस र नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ ।

आज कञ्चनपुर जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको शाहीले बताउनुभयो ।

प्रतिक्रिया