‘समान ज्याला गाउँ’ घोषणा

इनेप्लिज २०७२ साउन ९ गते ३:५६ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ९ साउन । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् ।

सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्ने जस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको गौश्वारा गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका हुन् ।

समान काम गरेर साँझ घर फर्कदा पुरुषले रु ५०० र आफूले रु ३०० ज्याला पाउँदा महिला दुःखी थिए । तर समान ज्याला गाउँ घोषणापछि पुरुष र महिला दुवैले बराबरी ज्याला बुझ्दा उनीहरु हर्षित छन् ।

केही दिनअघि स्थानीय जमुना निउरेको नेतृत्वमा महिलाले एक समिति गठन गरेर गाउँलाई समान ज्याला गाउँ घोषणा गरी पुरुष र महिलाले गरेको श्रमको मूल्य पनि बराबर नै हुनुपर्ने र अबदेखि श्रमको पारिश्रमिक दिँदा विभेद नगर्ने निर्णय भएको स्थानीय शिक्षक तुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार महिला र पुरुष दुवैको एकदिनको पारिश्रमिक रु ५०० तोकिएको छ । यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागि मात्र भएको बताइएको छ ।

प्रतिक्रिया