बन्दका कारण जनजीवन प्रभावित, बन्दकर्ता पक्राउ

इनेप्लिज २०७२ साउन ८ गते ३:१५ मा प्रकाशित

Bandaकाठमाडौँ, ८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको आजको नेपाल बन्दका कारण बिहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको छ ।

बन्दकर्ता नेकपा माओवादीका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेपछि उपत्यकाका सबै ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बन्दका क्रममा नेकपा माओवादीका नेता तिलक परियार, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीसहित हालसम्म ५२ जनालाई उपत्यका ठाउँठाउँबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी गराउनुभयो । उहाँका अनुसार केही कार्यकर्ता पेट्रोलसहित पक्राउ परेका छन् ।

बन्दकर्ताले महाराजगन्ज चोकमा एउटा बस र गोङ्गबुमा दूधको गाडीमा तोडफोड गरेको प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दका कारण उपत्यकामा बिहानी समयमा सञ्चालन हुने शैक्षिक संस्थामा पनि पठनपाठन हुन सकेन ।

हेटौँडा– नेकपा माओवादी नेत्रविक्रम चन्द समूहद्वारा आह्वान गरिएको नेपाल बन्दको प्रभाव मकवानपुर जिल्लामा पनि परेको छ ।

हेटौँडाबाट काठमाडौँलगायत अन्य सहरमा जाने लामो दूरीको यातायात सेवा आज बिहानदेखि अवरुद्ध भएको छ । यसैगरी जिल्लामा विभिन्न स्थानीय यातायात सेवालाई पनि सो बन्दले अवरुद्ध तुल्याएको छ । बन्दले गर्दा हेटौँडाबजार, विद्यालय, कलेज, सङ्घसंस्था र औद्योगिक क्षेत्र बन्द भएका छन् ।

आयोजक कार्यकर्ताले बजारको विभिन्न भागमा बजार बन्द र तोडफोड गराउँदै हिँड्ने १० जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताउनुभयो ।

बनेपा– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव काभ्रेपलाञ्चोकमा पनि परेको छ ।

बन्दका कारण यहाँको बनेपा, धुलिखेल, पाँचखाल, भकुन्डे, पनौतीलगायतका भित्री बजारसमेत पूर्ण रुपले प्रभावित भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

दूध बोक्ने गाडी, एम्बुलेन्सबाहेक अन्य कुनै सवारी साधन सञ्चालन भएका छैनन् । यसैबीच प्रहरीले बनेपाबाट सातजना आन्दोलनकारीलाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार बेलुका मसाल जुलुस निकाल्ने क्रममा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया