सुझावलाई कार्यान्वयन गर्ने सभासद्हरूको सामूहिक प्रतिबद्धता

इनेप्लिज २०७२ साउन ५ गते १४:१३ मा प्रकाशित

safe_image.phpइलाम, ५ साउन । सुझाव सङ्कलनका लागि जिल्ला आउनुभएका सभासद्हरूले सङ्कलित सुझावलाई तत्कालै संविधानसभामा पुर्‍याएर मस्यौदामा समाहित गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति इलामले आज यहाँ गरेको पत्रकार सम्मेलनमा सभासद्हरूले जनताबाट प्राप्त सुझावलाई जस्ताको तस्तै पुर्‍याएर समाहित गरिनेमा सामूहिक प्रतिबद्धता जनाउनु भएको हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सुझाव दिन नागरिक उत्सुक देखिएकाले उनीहरूको मर्म र भावनाअनुसार चाँडै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सभासद् सुजता परियारले जनताबाट महत्वपूर्ण सुझाव प्राप्त भएको बताउँदै सीमाङ्कनसहितको मस्यौदा आएको भए राम्रो हुन्थ्यो तर जति आयो त्यसलाई राम्रो र पूर्ण बनाउने जिम्मेवारी हाम्रो हो भन्नुभयो ।

अर्का सभासद् मनकुमार गौतमले ‘‘आठ वर्षदेखि मेहनत गरेर आएको मस्यौदा भएकाले जनताले छिटोभन्दा छिटो संविधान जारी गरोस् भन्ने चाहेका छन्, यसलाई गम्भीरताका साथ लिनुपर्छ’’ भन्नुभयो ।

सभासद् केशव थापाले सुझाव सङ्कलन हतारमा भएकाले धेरैभन्दा धेरैको सहभागिता हुन नसकेकामा दुःखेसो गर्दै अझै केही दिन भएको भए धेरै जनताको सहभागिता हुने थियो भन्नुभयो ।

यसैगरी सभासद् नगेन्द्र कुमालले सुझाव सङ्कलन कार्यप्रति जनताको उत्साह बढ्नु सकारात्मक भएको र यसमा विपक्षी दलहरुको पनि सहभागिता हुनुले नयाँ संविधानमा धेरैको अपनत्व रहने बताउनुभयो ।

सभासद् सूर्यवाला राईले मस्यौदामा जनताले दिएका सुझावलाई जस्ताको तस्तै संविधानसभामा समाहित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नागरिक सम्बन्ध तथा सुझाव सङ्कलन उपसमितिका सचिव अधिराज राईले ४३ गाविस र तीन नगरपालिकाबाट ६०१ सुझाव प्राप्त भएको जानकारी दिनुभयो ।

इलामवासीले पाँच प्रतिशत ‘थ्रेस होल्ड’को व्यवस्था, राष्ट्रपति, उपराष्ट्रपतिलगायतको निर्वाचन हुँदा वडाध्यक्षको समेत हुनुपर्ने सुझाव दिए । सार्वजनिक पदमा बस्नेको उमेरको हद र शैक्षिक योग्यता तोकिनुपर्ने, निर्वाचित धेरै, मनोनित थोरै हुनुपर्ने, धार्मिक स्वतन्त्रता, राष्ट्रिय जनावर गाईको सट्टा कस्तुरी, मृग, एकसिङ्गे गंैंडा आदि राख्नुपर्नेमा नागरिकले सुझाव दिएका थिए ।

प्रतिक्रिया