मंगलबार, असार ८ २०७८
काठमाडौं १६:१६
वासिङटन डिसी 06:31

जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अङ्गालेर संविधान जारी गरिने: प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७२ साउन ४ गते १२:२२ मा प्रकाशित

Rss_Images_1437385934077_NG-Nepalgunj-PM-Koiralaनेपालगन्ज, ४ साउन । प्रधानमन्त्री सुशील कोइरालाले जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अङ्गालेर संविधान जारी गरिने बताउनुभएको छ ।

नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्न आज नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीको अधिकार सुनिश्चित हुने व्यवस्था संविधानले गर्ने विश्वास दिलाउनुभयो ।

“अब कसैले हेपिनु पर्दैन, म तपार्इंहरु सबैलाई विश्वास दिलाउँछु जनताको सबैखाले माग अब जारी हुने संविधानमा उल्लेख गरिने छ” — उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले अगाडि भन्नुभयो – “सङ्घीयताका विषयमा उठाइएका शङ्का निरर्थक हो, संविधान बन्दैन कि भन्ने शङ्का गर्नु पनि भ्रम सिर्जना गर्नुमात्र हो । यो सबै हल्लाको पछि तपार्इंहरु कोही पनि नलाग्नु होला ।”

उहाँले संविधान निर्माण भएपछि मुलुक नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक संविधान जारी गर्ने अभियानमा सम्पूर्ण नेपाली जनताको सकारात्मक र साझा प्रयास आवश्यक छ भन्नुभयो ।

लोकतन्त्रमा बहुलवादको स्थान सधैँ सर्वोच्च रहने बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “सबैले मुलुकको सर्वोत्तम हितका लागि मूल्य, मान्यता र आदर्शको बाटोमा हिँड्नुपर्छ ।”

“लोकतन्त्रका लागि धेरै जनता सहिद भए, धेरैले जेल जीवन बिताए, कतिपयले कष्टकर जीवनयापन गर्नुप¥यो, अब हामीले मुलुकको समृद्धिका लागि मिलेर काम गर्नुपर्छ, विध्वंशलाई अब ठाउँ छैन,” उहाँले भन्नुभयो ।

सभासद् बादसाह कुर्मीको सभापतित्वमा भएको सुझाव सङ्कलन कार्यक्रममा अर्का सभासद् गौरा प्रसाईंले जनताबाट आएका सुझाव मस्यौदामा समेटिने विश्वास दिलाउनुभयो ।

यसअघि आजै नेपालगन्ज विमानस्थलमा पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा प्रधानमन्त्री कोइरालाले सबैको सहमतिबाटै संविधान जारी हुने र केही नमिलेका विषयमा छलफलबाटै मिलाइने बताउनुभएको थियो ।

प्रतिक्रिया