शनिबार, असार १८ २०७९
काठमाडौं २३:२४
वासिङटन डिसी 13:39

संविधान बनेपछि विकासले फड्को मार्नेछ: उपप्रम गौतम

इनेप्लिज २०७२ साउन ३ गते १५:०२ मा प्रकाशित

bamdev_20140625010346प्यूठान, ३ साउन । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सङ्घीयतासहितको नयाँ संविधान जारी गर्न प्रमुख दलबीच सहमति भइसकेकाले सङ्घीयतासहितको संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

दक्षिणी प्यूठानको बड्डाँडामा आज नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि सर्वसाधारणको राय तथा सुझाव सङ्कलन गर्दै उहाँले अन्तरिम संविधान, २०६३ मा सङ्घीयतासहितको संविधान जारी गर्ने उल्लेख भएको भन्दै अब मुलुक सो निर्णयबाट पछि फर्कन नसक्ने बताउनुभयो ।

“संविधानमार्फत जनतालाई अधिकार सम्पन्न गरी जनता आफैँ मालिक हुने छन्, संविधान बनेपछि विकासले फड्को मार्नेछ”–उहाँले भन्नुभयो ।

प्रारम्भिक मस्यौदा देशभर पुगेको भन्दै उपप्रधानमन्त्री गौतमले मस्यौदामाथि आफ्नो राय सुझाव दिन सबै समक्ष आग्रह गर्नुभयो । संविधान जारी भएपछि सीमान्तकृत, आदिवासी, जनजाति तथा पिछडिएका क्षेत्रको उत्थान हुने उहाँको भनाइ थियो ।

यसैबीच, आज बड्डाँडा र नयाँगाउँ क्षेत्रका नागरिकले संविधानको मस्यौदामाथिको आफ्नो राय तथा सुझाव दिँदै सङ्घीयताको खारेजी र हिन्दू राष्ट्र घोषणा हुनुपर्ने बताएका थिए ।

सुझाव सङ्कलन कार्यमा गृहमन्त्री गौतमसँगै सभासद् दुर्गा पौडेल, हिराबहादुर केसी, पुनाराम थापा र धनबहादुर रायमाझीको सहभागिता थियो ।

प्रतिक्रिया