सबैको सहमतिमा संविधान जारी गर्न प्रतिबद्ध छौँ : प्रधानमन्त्री
काठमाडौँ, ३ साउन । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणको प्रक्रियाको विरोध गरिरहेका र संविधानसभाबाहिर रहेका सबै दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने बताउनुभएको छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनले ५३औँ इन्जिनियर्स दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अब बन्ने संविधानमा सबैका हकअधिकार सुनिश्चित हुने भएकाले सबै दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता र अशान्ति भएकाले विकास अवरुद्ध हुन पुगेको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अहिले सबै दलका नेतामा देशप्रति चिन्ता छ, तसर्थ अब मुलुकले छिट्टै निकास पाउनेछ ।”
भूकम्पपछिको पुनः निर्माण र नवनिर्माणमा इन्जिनियर तथा अन्य प्राविधिक जनशक्तिको ठूलो महत्व हुने बताउँदै उहाँले लामो समयदेखि मुलुकमा रहेको सङ्क्रमणको अन्त्य गरी सबैलाई विकास निर्माणतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधिले भूकम्पलगत्तै इन्जिनियरले सर्वसाधारणका घर–घरमा पुगेर प्रारम्भिक जाँच गरी बस्न मिल्ने/नमिल्ने जानकारी दिएर ठूलो गुन लगाएको बताउनुभयो ।
मन्त्री निधिले प्रदेशको सीमाङ्कन गरेर मात्र संविधान जारी हुनुपर्ने धारणा राख्दै संविधानको मस्यौदामा विद्यमान नागरिकतासम्बन्धी प्रावधान पक्षपाती भएको उल्लेख गर्नु भयो ।
ऊर्जामन्त्री राधा ज्ञवालीले भूकम्पपछिको पुनः निर्माणमा इन्जिनियरको ठूलो आवश्यकता र महत्व रहने बताउनुहँुदै मुलुकको भविष्य पनि इन्जिनियरकै हातमा रहेको बताउनु भयो ।
वर्तमान सरकारले ऊर्जा र जलविद्युत्का क्षेत्रमा उल्लेख्य काम गरेको जानकारी गराउनुहुँदै मन्त्री ज्ञवालीले सरकारको प्रतिबद्धताअनुसार तीन वर्षमा विद्युत्भार कटौती अन्त्य हुने विश्वास दिलाउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले मुलुकको विकास दु्रत गतिमा अघि बढेका बेला अकल्पनीय रुपमा आएको भूकम्पले विकास लागत बढ्ने जानकारी दिनुहुँदै यसमा इन्जिनियरको ज्ञान र नयाँ प्रविधिको आवश्यकता पर्ने बताउनुभयो ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष ई. ध्रुवराज थापा, उपाध्यक्ष ई. अरविन्दकुमार गुप्ता, महासचिव ई. किशोरकुमार झा, निवर्तमान अध्यक्ष ई. महेन्द्रबहादुर गुरुङले मुलुकमा विज्ञान र प्रविधिले उचित महत्व नपाएकाले सोचेअनुसारको विकास नभएको भन्दै मुलुकको निर्माण र नवनिर्माणमा सरकारले अवसर दिए पछि नहट्ने विचार व्यक्त गर्नुभयो ।
एसोसिएसनको पहलमा वैशाख १२ गतेको भूकम्पलगत्तै करिब तीन हजार ५०० इन्जिनियरले स्वम्सेवी रुपमा भूकम्पबाट क्षति भएका ६५ हजार घरको प्रारम्भिक जाँच गरी बस्न मिल्ने/नमिल्ने जानकारी दिएका थिए ।
भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण कार्यमा सघाउन पनि एसोसिएसनले ‘बिल्ड बेटर नेपाल’ नाराका साथ विभिन्न योजना अघि सारेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया