चिनियाँ अर्थ सचिव मङ्गलबार आउँदै

इनेप्लिज २०७२ साउन ३ गते १४:२३ मा प्रकाशित

काठमाडौँ, ३ साउन । चीनका अर्थ सचिव चाङ स्योङ्छेन ११ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीनदिने औपचारिक भ्रमणमा आगामी मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ ।

भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका साथै नेपालको आर्थिक विकासमा नेपाललाई सक्दो सहयोग गर्ने चिनियाँ प्रतिबद्धताअनुरुप द्विपक्षीय वार्ताका निम्ति अर्थसचिव चाङ नेतृत्वको टोली भ्रमणमा आउन लागेको हो ।

पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा आगामी बिहीबार द्विपक्षीय वार्ता हुने अर्थसचिव सुमनप्रसाद शर्माले राससलाई बताउनुभयो । वार्तामा पुनःनिर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको जानकारी पनि उहाँले दिनुभयो ।

वार्तामा अर्थ, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वाणिज्य तथा आपूर्ति र शिक्षा मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा रामशरण महतसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

गत महिना यहाँ सम्पन्न नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले करिब रु ४८ अर्ब ऋण तथा अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो । पुनःनिर्माणसम्बन्धी कामका लागि नेपाल सरकारका अधिकारीसँग समन्वय गर्न तथा सहायता परियोजनाको स्पष्ट खाका तयार गर्न चिनियाँ विदेश मन्त्रीले चीनबाट प्रतिनिधिमण्डल आउने घोषणा पनि सोही सम्मेलनमा गर्नुभएको थियो ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सव यसैवर्ष परेको सन्दर्भमा चिनियाँ अर्थ सचिवको यो भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया