रुप्से खोलामा पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

इनेप्लिज २०७२ साउन २ गते २:४७ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), २ साउन । हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको दाना गाविस–२ मा पर्ने रुप्से खोलामा पुल निर्माणमा ढिलाइ हुँदा सवारी आवागमन प्रभावित भएको छ ।

ठेकेदारले समयमै काम सम्पन्न नगरेकाले बर्खायाममा सवारीसाधन खोला तर्न नसकेपछि गाडी परिवर्तन गरेर यात्रा गर्र्नुपर्ने बाध्यता रहेको छ ।

खोलामा डुबेर गाडी र मोटरसाइकलको इञ्जिन बिग्रिँदा सवारी धनीले लाखाँैको नोक्सानी ब्यहोर्नुपरेको छ ।

रुप्से खोलामा पुल निर्माणमा ढिलाइ हुँदा बेनी जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणले निकै दुःख र सास्ती ब्यहोर्नुपरेको रुप्से युवा क्लब दानाका अध्यक्ष कविन तुलाचनले बताउनुभयो ।

स्थानीयवासीका साथै मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक र तीर्थयात्री पनि काठे पुलबाट खोला तर्ने गरेका छन् ।

रु ५१ लाख लागतमा २०७१ असार ५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको रुप्से खोला पुलको २०७२ असारसम्म दुईतर्फ पिलर ठडाउने काम मात्र सम्पन्न भएको छ । ठेकेदारको ढिलासुस्तीले गर्दा समयमै काम सम्पन्न हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

दश मिटर लामो उक्त पुल निर्माण गर्न बिएन जागृति जेभीले ठेक्का पाएको थियो । रुप्सेबाहेक बेनी जोमसोम सडकको महभिर, तातोपानी, डुवाडी, मुस्ताङको कोवाङ र तङसेरा खोलामा कल्र्भट तथा पुल निर्माण भने सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया