समीक्षा कार्यक्रम सम्पन्न

इनेप्लिज २०७२ साउन १ गते २:०२ मा प्रकाशित

गुल्मी, १ साउन । स्थानीय शासन तथा उत्तरदायी संयन्त्रको सहयोगमा सञ्चालन भएको स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अहिलेसम्म भएका कामको समीक्षा गरिएको छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले जिल्ला विकास समिति, रेसुङ्गा नगरपालिकालगायत गाविसमा सञ्चालन गरेको कार्यक्रमको मूल्याङ्कन तथा समीक्षा गरिएको हो ।

कार्यक्रममा संस्थाले अहिलेसम्म जिल्लामा कार्यक्रम कार्यान्वयन पूर्वतयारी, जिल्लास्तरीय परिचयात्मक कार्यक्रम, रेडियो जवाफदेहीता कार्यक्रम, अभिमुखीकरण गोष्ठी, आधारभूत सर्वेक्षण र प्रारम्भिक प्रतिबद्धता निर्माण, नागरिक शिक्षा तालिम, भौतिक पूर्वाधार योजनाको अनुगमन तथा प्रतिबद्धता निर्माण, जानकारी आदानप्रदानलगायतका कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । संस्थाले जिविस गुल्मी, रेसुङ्गा नगरपालिकालगायत अस्लेवा, लिम्घा, अर्लाङकोट, वामी, बलिथुम, पल्लिकोट, दर्लामचौर, बस्तु र अर्जे गाविसमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रम सञ्चालन भएका कार्यालय तथा गाविसमा पहिलेभन्दा कानुनी तथा नीतिगत व्यवस्थामा निकै सुधार आएको संस्थाका कार्यक्रम संयोजक हिरा एसीले जानकारी दिनुभयो । कार्यक्रमको उद्देश्य स्थानीय निकायमा प्राप्त रकमको प्रभावकारी बाडँफाँड, उपयोग तथा नागरिक संलग्नतामा जोड दिँदै स्थानीय निकायले सेवा प्रदान गर्ने, सेवा तथा सुविधामा नागरिकको पहुँच, परियोजनाको पारदर्शी र प्रभावकारी कार्यान्वयन तथा नागरिक संलग्नताको सुनिश्चितता गर्ने लगायतका छन् ।

त्यस्तै स्थानीय स्तरमा संवाद तथा जवाफदेही कार्यकर्ताका रुपमा काम गर्न नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा सहयोग गर्नु र नागरिकलाई सूचना, शिक्षा र सञ्चारको कार्यद्वारा जागरुक र सुशासनको माग गर्न सक्षम गराउने समेत कार्यक्रमको उद्देश्य रहेको सयोजक एसीले बताउनुभयो ।
एकीकृत ग्रामीण विकास समाज गुल्मीले जिल्लामा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यालयलगायत हेफर इन्टरनेसनल नेपालको सहयोगमा किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत बाख्रा विकास परियोजना, युएसआइडीको सहयोगमा सुआहारा कार्यक्रम र दायित्व अभियान नेपालको सहयोगमा नयाँघर कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया