नयाँ संविधानमा राय, सुझाव र प्रतिक्रिया यथाशीघ्र पठाउन नेजस अमेरिकाको आग्रह

इनेप्लिज २०७२ असार ३१ गते १३:४५ मा प्रकाशित

मातृभूमि नेपालको बहुप्रतिक्षित संविधानको मस्यौदा तयार गरी नेपाल सरकारले हाल देश विदेशमा रहेका नेपालीहरुसँग प्रस्तावित मस्यौदाका बारेमा राय, सुझाव र प्रतिक्रिया माग गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले संविधानको मस्यौदामा राय सुझावका लागि आग्रह गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले विदेशमा रहेका नेपालीहरुको नागरिक हक, अधिकारको संवैधानिक प्रत्याभूतिका लागि नयाँ संविधानमा समावेश गर्नुपर्ने बुँदाहरु संकलन गरी संविधानसभामा राय सुझावको रुपमा प्रेषित गर्ने निर्णय गरेको छ । यसका लागि समितिका वरिष्ठ उपसभापति धनञ्जयनरसिंह केसीको संयोजकत्वमा केशव बराल, ओम भट्टराई, मान्ती शाह र प्रमोद सिटौला सदस्य रहनु भएको समिति गठन गरेर समितिका सम्पूर्ण च्याप्टरका सदस्य र शुभेच्छुकहरुसहित अमेरिकाका सबै संघसंस्था र समुदायबाट तत्काल राय, सुझाव संकलन गर्न जिम्मेवारी प्रदान गरेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले सबैलाई नयाँ बन्ने नेपालको संविधानमा हाम्रा साझा बिषयहरुलाई कसरी समेट्न सकिन्छ भन्ने बारे आवश्यक सुझाव दिन हार्दिक अनुरोध गर्नुभएको छ । संविधानमा आफ्नो हक, अधिकारको संवैधानिक प्रत्याभूतिका लागि पहल गर्न र सुझाव दिने ऐतिहासिक अवसरको सदुपयोग गर्दै आ–आफना अमूल्य सुझाव र राय तोकिएको मितिभित्र प्रेषित गर्नु हुनका लागि अमेरिकावासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सभापति बिष्टले आह्वान गर्नुभएको छ । यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले पनि संविधानमा राय, सुझाव र प्रतिक्रियाका लागि सम्पूर्ण च्याप्टरहरुलाई जानकारी पठाईसकिएको जानकारी दिंदै संविधान को मस्यौदामा राय, सुझाव र प्रतिक्रियाका लागि अमेरिकाबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा
हार्दिक आह्वान गर्नुभएको छ ।

संविधानको मस्यौदामा राय, सुझाव संकलन समितिका तर्फबाट केन्द्रीय सदस्य मान्ती शाहले राय, सुझाव र प्रतिक्रियाका लागि सम्पूर्ण च्याप्टरहरुलाई अनुरोध गरिसकेको स्पष्ट पार्दै यथाशीघ्र आफ्ना सुझावहरु सम्पूर्ण च्याप्टरहरुले केन्द्रलाई पठाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना सम्पूर्ण च्याप्टरहरुले आफ्ना च्याप्टर अन्तर्गत रहेका हाम्रा साथीहरु लगायत समितिका सम्पूर्ण च्याप्टरका सदस्य र शुभेच्छुकहरुसहित अमेरिकाका सबै संघसंस्था र
समुदायसँग अन्तरक्रिया गरि तत्काल राय, सुझाव संकलन गरि पठाउनका लागि हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया