डेन्टल सञ्चालक पक्राउ

इनेप्लिज २०७२ असार ३० गते ४:४१ मा प्रकाशित

चितवन, ३० असार । दर्ताबिना सञ्चालनमा आएका डेन्टल क्लिनिकलाई प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न स्थानीय प्रशासनले दिएको निर्देशन अटेर गर्ने तीनवटा डेन्टलका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई डेन्टलका सञ्चालक भने फरार भएका छन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले गत सोमबार भरतपुर नगर क्षेत्रका डेन्टल क्लिनिकमा अनुगमन गर्दा पाँचवटा दर्ताबिना सञ्चालन गरिएको भेटिएको थियो । ती डेन्टललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएकामा भोलिपल्ट मङ्गलबार नै यथावत् रुपमा सञ्चालन भएपछि साँझ प्रहरीले ती डेन्टलका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार चौबीसकोठीको सिमुन डेन्टल, प्रहरी कार्यालयअगाडि रहेको भरतपुर डेन्टल र चौबीसकोठीकै नारायणी डेन्टलका सञ्चालकलाई नियन्त्रणमा लिइएको हो । अन्य दुई भरतपुर बसपार्कको अल्पाइन र चौबीसकोठीको एपोलो डेन्टलका सञ्चालक भने प्रहरीलाई देखेपछि भागेको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताउनुभयो ।

प्रतिक्रिया