पहिरोको त्रासले घरमा रात बिताउन छाडे

इनेप्लिज २०७२ असार ३० गते ४:४० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ३० असार । म्याग्दीको बेग गाविस–८ बादुकको चिनार गाउँका बासिन्दाले पहिरोको त्रासले घरमा रात बिताउन छाडेका छन् ।

गत वैशाखको भूकम्पका कारण चर्किएको बस्तीमाथिको पहाड भत्किएर पहिरो खस्ने जोखिमका कारण चिनार गाउँका बासिन्दा रातमा घरमा बस्न छाडेका हुन् । चिनार गाउँदेखि करिब ५०० मिटर माथि रहेको जाल थाप्ने डाँडाको जमिन धाँजा फाटेर चिरा÷चिरा परेपछि जुनसुकै बेला पहिरो खस्ने खतरा देखिएको स्थानीयवासीले बताएका छन् ।

चिनारका बासिन्दा साँझ परेपछि बादुकको डाडाँगाउँमा गएर सुत्न थालेका बादुकका अगुवा चुकबहादुर शेरपुञ्जाले बताउनुभयो । उहाँका अनुसार चिनारमा रहेका २५ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । दिनमा घर, खेतबारीको काम गरेर साँझ परेपछि अन्तै गएर रात बिताउन थालेका हुन् ।

उक्त स्थानमा २०४२ सालमा पनि पहिरो खसेको थियो । पहिरोको जोखिममा रहेका चिनार गाउँका बासिन्दाले गाविस कार्यालयमार्फत विपद् व्यवस्थापन समितिलाई जोखिमको अध्ययन गरिदिन निवेदन दिएका छन् ।

प्रतिक्रिया