रामपुर (पाल्पा), ३० असार । पाल्पालाई एक वर्ष भित्रमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान तीव्र गतिमा अगाडि बढेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जिल्ला विकास समितिको पहलमा आयोजित यस अभियानलाई ‘एक घर एक चर्पी, सफासुग्घर हाम्रो धर्ती’ भन्ने नारा बोकेको संयुक्त पहलमा हालसम्म २४ वटा गाविस घोषणा भइसकेका छन् ।
खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डेले हामीले सन् २०१६ सम्म जिल्लालाई घोषणा गरिसक्नुपर्ने बताउनुभयो । सरसफाइसम्बन्धी चेतनाका कमीले गर्दा शौचालय प्रयोग नगर्नेको सङ्ख्या बढी थियो तर समयसमयमा तालिम तथा सचेतनाका कारण शौचालय प्रयोग गर्नेको सङ्ख्या ८५ प्रतिशत पुगेको खानेपानी कार्यालयका इन्जिनियर भरत पोखरेलले बताउनुभयो ।
हालसम्म २४ वटा गाविस घोषणा भइसकेका छन् । १० वटा गाविस घोषणा गर्ने तयारीमा छन् । यस अभियानलाई कडा रुपमा ल्याइएपछि घरघरमा चर्पी बनाउने कार्य अगाडि बढेको इन्जिनियर पोखरेल बताउनुहुन्छ । खानेपानी तथा सरसफाइ कार्यालयका अनुसार जिल्लाका ग्रामीण बस्ती वाकामलाङ, जुठापौवा, गोठादी जस्ता गाविसको तुलनामा नगरपालिका क्षेत्रभित्र यस अभियानले कमै मात्रामा छोएको छ । तानसेन नगरपालिकाभित्र चार हजार ४१८ घरधुरीमध्ये तीन हजार ९९३ घरपरिवारले पक्की शौचालयको प्रयोग गरेका छन् । रामपुर नगरपालिकामा तीन हजार ११५ घरपरिवारले खुल्ला आकासमुनि दिसा गर्दछन् ।
दुई नगरपालिकामा २७ प्रतिशत घरपरिवारमा शौचालय नभएको बताइएको छ । रुप्से गाविसका सचिव शिवहरि मरासिनी भन्नुहुन्छ, “भदौ मसान्तभित्रमा गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिनेछ, हालसम्म १० वटा घरधुरीले पक्की शौचालय प्रयोग गरेका छैनन् । तर उनीहरुलाई समेत मूलप्रवाहमा ल्याइएको छ ।”
गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरिएपछि त्यसबाट धेरै सजिलो भएको छ । खुल्ला दिसाका कारण लाग्ने रोगको सामाना गर्न नपरेको सभ्यताको पहिचान भएको मुझुङ गाविसका सचिव भरत घिमिरेले बताउनुभयो । अभियानलाई जसले सघाउँदैन त्यो परिवारका सदस्यले गाविसबाट प्राप्त गर्ने सेवासुविधा रोकिनेछ । यसले गर्दा गाउँमा अभियानका रुपमा शौचालय निर्माण गनुपर्दछ भन्ने जागरण आएको सचिव घिमिरे बताउनुहुन्छ ।
सरकारी काम होइन आफ्नो कर्तव्य र दायित्वभित्र पर्दछ भन्ने चेतना भएका गाविसमा घोषणा भइसके अब त्यसैगरी गाउँगाउँका बस्तीबस्तीमा सन्देश पु¥याएरै छाडिने समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद पाण्डे बताउनुहुन्छ । यस्ता अभियानका लागि सरकारले सहयोग गर्ने होइन व्यक्ति आफैं जागरुप हुनुपर्ने उहाँको भनाइ छ । खानेपानीद्वारा सञ्चालित खानेपानीका योजनाका क्रममा टोल बस्तीमा धारा निर्माण सँगसँगै पक्की शौचालय निर्माणका कार्यलाई एकसाथ अगाडि बढाइएका कारण कार्य प्रगति बढ्दै गएको कार्यालयका प्राविधिक नारायणप्रसाद अर्याल बताउनुहुन्छ ।
प्रतिक्रिया