विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने छजना सम्मानित

इनेप्लिज २०७२ असार ३० गते २:५२ मा प्रकाशित

पथरी (मोरङ), ३० असार । भानु मोरङ सांस्कृतिक समितिले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने छजनालाई मङ्गलबार साँझ यहाँ सम्मान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्तीका अवसरमा समितिद्वारा विराटनगरमा आयोजित कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय साहित्यकार गङ्गा सुवेदी र डेढ दशकदेखि पत्रकारितामा सक्रिय कुमोद अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

त्यस्तै शिक्षासेवी रोर्वट शर्मा, कलाकार बुद्धिमान थापा मगर र संस्थाको विकासमा स्थापनाकालदेखि सहयोग गरेबापत भगवानलाल साहलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ दधिराज सुवेदी र अतिथि विवश पोखरेल र संस्थाकी अध्यक्ष माया पौडेलले संयुक्त रुपमा उहाँहरुलाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा साहित्यका क्षेत्रमा योगदान गरेबापत साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितलाई भानुपदकबाट विभूषित गरियो । कार्यक्रममा भानु कला केन्द्रका कलाकारले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा आयोजित कविता प्रतियोगितामा विजयी विकास श्रेष्ठ, मोतिराम ढुङ्गालालाई नगद पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया