मुक्त हलियाका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षा

इनेप्लिज २०७२ असार ३० गते २:३२ मा प्रकाशित

computerकञ्चनपुर, ३० असार । कञ्चनपुरका मुक्त हलियाका विद्यालयमा पढ्दै आएका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले यहाँका सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव, नवदुर्गा निम्नमाध्यमिक विद्यालय सुडा र त्रिभुवन उच्चमाध्यमिक विद्यालय तिलाचौरमा प्रतिविद्यालयमा सात वटाका दरले कम्प्युटर उपलब्ध गराई निःशुल्क कम्प्युटर सिक्ने अवसर प्रदान गरेको हो ।

सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेवमा कक्षा १० मा पढ्दै आएका मुक्त हलिया परिवारका वीरेन्द्र सार्कीले कम्प्युटर सिक्नका लागि भारतीय बजार टनकपुर र महेन्द्रनगरमा जानुपर्ने विगतको बाध्यता विद्यालयमा नै कम्प्युटरको व्यवस्थाले हटेको बताए ।

विद्यालयका शिक्षक हिरा सिं ऐडीले यहाँ अध्ययन गर्ने मुक्त हलियाका ७० प्रतिशत बालबालिका सबैलाई पालैपालो कम्प्युटरमा बसेर प्रयोगात्मक तरिकाले सिक्ने अवसर दिँदै आएको बताउनुभयो ।

“निम्नमाध्यमिक तहको कक्षा ६ मा अनिवार्य कम्प्युटर विषय अध्ययन गर्नुपर्ने व्यवस्था रहे पनि कम्प्युटरको किताबी ज्ञानलाई मात्रै विद्यार्थीलाई पस्किँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “कम्प्युटरको उलब्धताले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान दिन पाएका छौँ ।” कम्प्युटर कक्षामा एक वर्षअघि देखि कक्षा ६, ८, ९ र १० का विद्यार्थीलाई विद्यालयले समावेश गर्दै आएका छन् ।

अधिकांश समय अभिभावकसँगै बिताउँदै आएका मुक्त हलियाका बालबालिका विद्यालयमा कम्प्युटरको व्यवस्थाले नबिराई विद्यालय आउन थालेको शिक्षक रमेश खड्काले बताउनुभयो ।

कम्प्युटरले गर्दा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा समेत निकै कमी आएको पाएको उहाँको भनाइ छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले भन्नुभयो, “प्रतिस्पर्धाको युगमा मुक्त हलियाका बालबालिकाको समेत कम्प्युटर शिक्षामा दखल हुुनु जरुरी छ ।”

प्रतिक्रिया