काठमाडौँ, २९ असार । अपराध रोकथाममा प्रहरीको एकल प्रयासमा मात्रै प्रभावकारी नहुने ठहर गदै सरकारले ‘प्रहरी मेरो साथी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री डा रामशरण महतले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२/७३ बजेटमा ‘प्रहरी मेरो साथी’ कार्यक्रमअन्तर्गत युवा स्वयम्सेवक परिचालन व्यवस्था मिलाइने उल्लेख छ ।
जनतालाई सुशासनको अनुभति दिलाउन सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व प्रवद्र्धन गर्नुका साथै दण्डहिनता अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ ।
समाजमा शान्ति सुरक्षा खल्बल्याउने, लुटपाट, गुण्डागर्दी, चन्दा, चिट्ठा र ढुकटीजस्ता अपराधिक प्रकृतिका क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरिने बजेटमा उल्लेख छ ।
महानगरीय प्रहरीलाई साधन स्रोत सम्पन्न बनाई व्यावसायिक प्रहरी सङ्गठनको रुपमा विकसित गर्ने जनाएको छ ।
काठमाडौँको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरणका लागि सुरुवात गर्न रु पाँच करोड बिनियोजन गरेको छ भने उपत्यकाका अन्य कारागार पनि क्रमशः उपत्यका बाहिर स्थानान्तरण गर्दै लैजाने उल्लेख छ । बाँकेमा क्षेत्रीयस्तरको खुल्ला कारागार निर्माण गरिने भएको छ ।
प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि गर्न केन्द्रीय फोरेन्सिक ल्याबको स्तरोन्नति गर्नुका साथै क्षेत्रीयस्तरमा समेत क्रमशः विस्तार गरिने जनाएको छ । प्रहरीको अनुसन्धान क्षमता बढाउन रु १६ करोड बजेटमा विनियोजन गरिएको छ ।
नेपाली सेनामा सबै प्रकारको विपद् व्यवस्थापन गर्न सक्षम एउटा विशेष कार्यदल गठन गरिने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि यस आवमा रु ३८ अर्ब ३६ करोड बिनियोजन गरेको छ ।
प्रतिक्रिया